पत्रकार जमुना र समाजसेवी धनमायालाई सम्मान

समाधान संवाददाता २०७९ फागुन २५ गते १०:५९

पोखरा ।
ग्लोबल अवारनेस फाउन्डेसन कास्की नेपालको प्रथम साधारण सभा एवम् ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ । लैंगिक समनाताका लागि बलियो आधार सिर्जना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य मीना गुरुङले शर्मा र गुरुङलाई सम्मान गरेकी हुन् ।

Advertisement

पूर्व सांसद गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पुर्‍याउन आवश्यक रहेको बताइन् । उनले नारी मुक्ति आन्दोलनको प्रणेता क्लारा जेटलिनले सन् १९१० मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै सुरु भएको दिवसले पछिल्लो समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राखिन् ।

कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाको उत्सवको दिन रहेको बताउँदै आपनो भूमिकाको खोजीसहित महिलाअघि बढ्नुपर्ने बताइन् । उनले आवाज कुनै छाल होइन तर उर्लेपछि परिवर्तन ल्याउने जनाइन् । आफ्नो अधिकारसहित कर्तव्यको पालना गरेर परिवर्तनको पाइला चाल्नुपर्ने शर्माले औंल्याइन् । उनले सम्मानले आगामी दिनमा पत्रकारितामार्फत समाजका लागि अझ थप जिम्मेवार भएर काम गर्न ऊर्जा मिलेको सुनाइन् ।

संस्थाकी अध्यक्ष चन्द्रा शर्माले महिला आन्दोलन र मुक्तिका लागि सुरुवात गरिएको आजको दिन महिलाका लागि विशेष रहेको बताइन् । उनले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितिका लागि संस्था सचेतनादेखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुर्‍याएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको बताइन् ।

कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्तोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधिसहित महिला दिवसका बारेमा आफ्नो धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया