जिफन्ट महिला कमिटीमा संगीता

समाधान संवाददाता २०७९ फागुन २५ गते ११:०९

पोखरा ।
१ सय १३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)को अवसर नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले प्रथम प्रदेश महिला सम्मेलन गरेको छ ।

Advertisement

‘लैंगिक समानता र सशक्तीकरणका लागि प्रविधिमा दक्षता र नेतृत्व विकास’ भन्ने नाराका साथ भएको सम्मेलनले जिफन्ट गण्डकी प्रदेश कमिटी सहसचिव तथा अध्यक्ष संगीता पाण्डेको नेतृत्वमा ९ सदस्यीय प्रदेश महिला कमिटी गठन गरेको छ ।

महिला कमिटीको उपाध्यक्ष दुर्गा केसी, सचिव ममता गौतम छन् । कमिटीका सदस्यमा नन्दकुमारी शर्मा, कल्पना राना, गीता रेग्मी, यशोदा बाँनिया, आकृति लामिछाने र शुक्ला गुरुङ रहेको जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन परिषद्का अध्यक्ष मीना गुरुङले सम्मेलन उद्घाटन गर्दै शोषण र दमन बढी भएको खण्डमा विद्रोह हुने विषय महिला आन्दोलनले सिकाएको उल्लेख गरिन् । उनले धैर्य र परिस्थितिको विश्लेषण गर्दै योजना बनाएर काम गर्न सुझाव दिइन् ।

जिफन्ट राष्ट्रिय कमिटी सचिव विजया खड्काले ४१ प्रतिशत महिला सहभागितालाई ५० प्रतिशत पु¥याउन अभियान चलाएको बताइन् । ‘महिलाले सकारात्मक कुरा राख्न सके सशक्तीकरण र नेतृत्व विकास हुन सक्छ,’ सचिव खड्काले भनिन्, ‘आर्थिक रुपमा सशक्त भएमात्र सबै खालको नेतृत्व विकास हुनुका साथै अरुलाई सहयोग गर्न सकिन्छ ।’ उनले नेतृत्वमा आलोचना सुन्न सक्ने क्षमता हुनुपर्ने उल्लेख गरिन् ।

Advertisement

जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष खत्रीले विसं. २०८० वैशाख १ गतेदेखि सबै श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने जानकारी दिए ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुमन गुरुङ, गण्डकी प्रदेश कमिटी सहसचिव संगीता पाण्डे, प्रदेश कमिटीका सदस्यहरु ममता गौतम, शर्मिला देवकोटा लगायतले श्रमिक महिलाका समस्याका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया