‘हिंसा रोक्न ग्रामीण तहमा कार्यक्रम’

पोखरा ।
‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच र विस्तार’ भन्ने नाराका साथ बुधबार गण्डकी प्रदेश सरकारको अगुवाईमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
सो दिवस मुल समारोह समिति गण्डकीले स्थानीय पोखरा सभागृहचोकबाट सिर्जनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक सहिदचोक हुँदै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको परिसरसम्म सचेतनामूलक र्याली निकालेको हो । मन्त्रालयका निमित्त सचिव घनश्याम पौडेलले लैंगिक हिंसा न्यूनीकरणका लागि गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिए ।
हिंसाबाट प्रभावित महिलाको संरक्षण र समाजमा पुनस्र्थापनाका लागि निर्माण भएको महिला सुरक्षा गृह सञ्चालन व्यवस्थापनमा ध्यान दिइएको छ,’ उनले भने, ‘त्यस्ता महिलाको स्वास्थ्य र न्यायमा पहुँच पुर्याउनका लागि योजनाबद्ध ढंगले काम गरिनेछ ।’ उनले महिला दिवसको नारालाई व्यवहारमा उतार्ने गरी काम गर्ने जानकारी दिए ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले दुर्गम क्षेत्र तथा पिछडिएको वर्गका महिलालाई विकासको मुल प्रवाहमा ल्याउने गरी कार्यक्रम गर्नुपर्ने बताए । उनले राष्ट्रिय महिला आयोग, अदालत, प्रहरी प्रशासनले लैंगिक हिंसा तथा दुव्र्यवहारमा परेका महिलालाई दिने सेवा प्रवाहमा सुधार गर्नुपर्ने खाँचो औंल्याए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, सामाजिक विकास कार्यालय कास्की प्रमुख ईन्द्रबहादुर थापा, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा संयोजक विना सिलवाल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मोहन काफ्ले र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अधिकृत देवी शर्माले महिला दिवसका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया