सम्पादकीयः विद्यार्थीकै कारण स्ववियु कमजोर

यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । चुनावी मिति नजिकिँदै जाँदा क्याम्पसहरूमा चहलपहल बढेको छ । हरेक २ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो । पटक पटक मिति तोक्दै स्थगित हुँदै आएको निर्वाचन यसपटक भने पक्का हुने देखिएको छ ।
निर्धारित समयमा निर्वाचन बिथोलिए वा कुनै कारणवश स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्ने निर्णय भइसकेको छ । स्ववियु स्थापनादेखि अहिलेसम्म आइपुग्दा विद्यार्थी आन्दोलनले थुप्रै उतारचढाव पार गरेको छ । यसबीचमा सरकार र विश्वविद्यालयको उदासीनता स्वयं स्ववियुका निर्वाचित पदाधिकारी एवं संगठनका गैरजिम्मेवारपनका कारणस्ववियुमाथि अनेक प्रश्न पनि उठेका छन् ।
केही व्यक्ति र संगठनले गरेका कमीकमजोरीलाई स्ववियु र विद्यार्थी आन्दोलनसँग जोडेर स्ववियुको औचित्यमाथि प्रश्न उठाइएका छन् । एकाध ठाउँमा स्ववियुका पदाधिकारी क्याम्पस प्रशासनसँग मिलेर भ्रष्टाचार गर्ने, गुन्डागर्दीमा उत्रिएर अराजकता निम्त्याउने लगायतका क्रियाकलापमा फसेका देखिए ।
स्ववियु शैक्षिक सुधार र विद्यार्थीको हकहितका विषय उठाउनेभन्दा विश्वविद्यालयमा तालाबन्दीदेखि नियुक्तिमा भागबन्डा तथा ठेक्कामा हिस्सेदारी खोज्ने र शैक्षिक वातावरणलाई धुमिल्याउने प्रवृत्तिले बदनाम बन्न बनेको छ । यी र यस्ता कारणले स्ववियु चुनाव नगर्न र स्ववियुकै औचित्यमा प्रश्न उठाएको छ । कतिपयले स्ववियु नै खारेज गर्नुपर्छ भन्ने तर्क गरेका छन् ।
अब स्ववियुलाई संस्थागत उद्देश्य अनुसार परिचालन गर्न र विद्यार्थी हकहित र अधिकार प्राप्तिको आन्दोलनमा हिडाउन जरुरी छ । जुनसुकै कामको लागि पनि नेतृत्व आवश्यक छ । सरकारलाई विद्यार्थीको अधिकार, हकहितबारे खबरदारी गर्न विद्यार्थी आन्दोलन जरुरी छ । यसका निम्ति नेतृत्व निर्माणमा स्ववियुको भूमिका महत्वपूर्ण हुन्छ ।
नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थी आन्दोलनको अहं भूमिका छ । अहिलेका धेरैजसो नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । राजनीतिक दलहरुमाथि प्रतिबन्ध भएको समयमा पनि जनतामा पुग्ने र आन्दोलनको माहोल बनाउन विद्यार्थी मोर्चा निकै प्रभावकारी बनेको इतिहास छ । विश्वविद्यालयमा प्रविणता प्रमाणपत्र तह हटाइएपछि क्याम्पसहरुमा विद्यार्थीको चाप निकै घटेको छ ।
त्यसमा पनि देशमा भएको सशस्त्र विद्रोह, राजनीतिक संक्रमणले पनि बेला बेलामा स्ववियु चुनाव हुने अवस्था बनेन । यस्तो अन्योलको अवस्थामा विद्यार्थी संगठनहरुको फतलो प्रस्तुति, नेताहरुको अदूरदर्शी निर्णयले विद्यार्थी संगठनप्रतिको आकर्षण निकै घटेको छ । नेपालमा भएका सबै आन्दोलन र विद्रोहमा सबैभन्दा अघि उत्रिने विद्यार्थी मोर्चा केही वर्षदेखि भने कमजोर बनेको देखिन्छ ।
अधिकांश दलका भातृ संगठनले विद्यार्थी मोर्चाको समयमै नेतृत्व चयन गरेको देखिँदैन । आफ्नो छवि सुधार्दै विद्यार्थीको हकहित र राजनीतिक परिवर्तनमा खत्रो उत्रिने मौका अझै विद्यार्थीहरुलाई छ । नत्र स्ववियु खारेजी र विद्यार्थी संगठनकै औचित्वमा उठेको प्रश्न थप टड्कारो बन्नेछ ।
तपाईको प्रतिक्रिया