विभेद भत्काउने आकांक्षाले विद्रोही

प्रमिला कुँवर २०७९ फागुन २५ गते १५:५७

प्रमिला कुँवर, पोखरा ।
राजनीतिक दल के हो, त्यसले के काम गर्छ भन्ने भन्ने राजकुमारी भुजेललाई थाहै थिएन । उनी कक्षा ७ मा पढ्थिन् । सानैदेखि निडर, हक्की स्वभावकी थिइन् । माथिल्लो कक्षामा पढ्ने दिदीहरुले उनलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन स्कुल कमिटी अध्यक्ष बनाइदिए ।

त्यही बेला पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारी राजकुमारीलाई पार्टीका पर्चा, चिठ्ठीपत्र, कम्युनिस्टका किताब राख्न दिन्थे । ‘तिमीसँग यो सामान छ भनेर कसैलाई पनि नभन्नू, आमालाई पनि नभन्नू,’ रवीन्द्र सम्झाउँथे । राजकुमारी ती सामान जतनसाथ राख्थिन् ।

आमालाई पनि देखाउन नहुने कस्तो सामान होला भन्ने खुल्दुली भने उनलाई लागिरहन्थ्यो । जिज्ञाशा आए पनि उनले पोको खोलेर हेर्ने चेष्टा गरिनन् । कसैलाई देखाउन नहुने सामान आफूले पनि हेरिनन् ! उनलाई त्यो बेला आफूले पार्टीको काम गरिरहेको छु भन्नेसमेत थाहा थिएन । गाउँमा राजकुमारीको घर त सेल्टर हो नि भन्ने गाईगुई चल्न थाल्यो ।

Advertisement

विचारा उनलाई सेल्टर भनेको पनि थाहा थिएन ! ‘पार्टीका किताब, चिठ्ठीपत्र, पर्चा, कागज लुकाउने घरलाई सेल्टर भन्दा रहेछ भन्ने मलाइलाई धेरैपछि मात्र थाहा भयो,’ उनी विगतमा फर्किइन् । रवीन्द्रको साथ र सहयोगले नै पार्टीमा आबद्ध भएको र यहाँ आइपुगेको उनी गर्वसाथ सुनाउँछिन् ।

‘रवीन्द्र दाइले मलाई त्यसरी काम नअह्राएको भए म पार्टीमा आबद्ध हुने थिइनँ होला,’ भुजलले भनिन्, ‘तिमीसँग यो सामान छ भने पुलिसले तिमीलाई पनि लैजान्छ, मलाई पनि लैजान्छ भन्नुहुन्थ्यो । त्यसैले ती सामान भएको कुरा कसैले पनि सुइँको पाएनन् ।’

Advertisement

राजनीतिक आन्दोलनको कुरा नबुझे पनि उनले मनन गरेको कुरा थियोः मैले जसरी पनि रवीन्द्र दाइलाई अप्ठ्यारो पार्नुहुन्न । उनी भन्छिन्, ‘उहाँलाई नसम्झेको दिन छैन । उहाँकै कारण आज गण्डकी प्रदेशसभा सदस्य भएकी छु । तर, यो कुरा नै उहाँलाई भन्न नपाउँदा पछुतो लागेको छ । मलाई उहाँले कसरी विश्वास गरेर सामान लुकाउन दिनुहुन्थ्यो, अझै पत्तो पाएकी छैन ।’

परिवर्तनकारीलाई सहयोग गर्दागर्दै कम्युनिस्ट बनेकी राजकुमारी विभेद हटाउने ऐन बनाउने ठाउँमा पुगेकी छन्

रवीन्द्रले अगुवाइ गर्ने समाज विकासका काममा राजकुमारी पनि सहभागी हुन्थिन् । रवीन्द्रले अहिले पोखराका स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य र पूर्व वडाध्यक्ष शिव आचार्यको नेतृत्वमा मुसा मार्ने अभियान सञ्चालन गरेका थिए । पोखरी, बाटो सफा गर्ने, समाज परिवर्तन गर्नुपर्छ भनेर केही न केही काम काम गरिरहन्थे ।

ज्याला कम दिएको भनेर रवीन्द्रकै नेतृत्वमा हली अभियान चल्यो । त्यो बेला राजकुमारीले हलीलाई जोत्न जानबाट रोकेकी थिइन् । गाउँलेले रवीन्द्र र राजकुमारीले हलीलाई आउन नदिएर बारी बाँझै भए, गाउँ भाड्न लागे भन्नेसमेत आरोप लगाएका थिए ।
‘दिनभरी बारी जोतेको ज्याला जम्मा एक पाथी अन्न थियो, उनीहरुमाथि शोषण हुन्थ्यो,’ राजकुमारी भनिन् ‘मैले धेरै कुरा नबुझे पनि अन्याय गर्नुहुन्न, असमान व्यवहार गर्न हुन्न, अरुलाई दुख दिनु भन्ने बुझेकी थिएँ ।’

सांकेतिक नै किन नहोस्, उनले घरबाटै विद्रोह सुरु गरिन् । गाउँमा दलितलाई दूध, मोही दिनु हुन्न भन्थे तर घरका अरुले थाहा नपाउने गरी उनी दिन्थिन् । कोदो, मकै पनि उनीहरुले पाउनेमा थपेर दिन्थिन् । सानैदेखि विद्रोही, हक्की स्वभावकी उनलाई किसान भन्थे–पछि तिमी ठूलो मान्छे बन्छ्यौ ।

वामपन्थी नेता हितकाजी गुरुङको भाषणले उनलाई गहिरो प्रभाव पारेको थियो । त्यसैले उनी स्कुलको साटो गुरुङको भाषण सुन्न जान्थिन् । ‘घरबाट स्कुल जाने भनेर निस्कियो तर हामी आमसभामा पुग्थ्यौं,’ उनले सुनाइन्, ‘सभामा गाउँ गाउँबाट उठ, बस्ती, बस्तीबाट उठ गीत लगाउँदा शरीरमा तरंग आउथ्यो,’ उनले भनिन्, ‘एकपटक सभा चलिरहेकै बेला प्रहरी आइ पुगे । हातमा चप्पल लिएर बारीको गरैगरा फाल हाल्दै भागेको अझै याद आउँछ ।’

पोखराबाट सोमनाथ प्यासी, खगराज अधिकारी, धनराज आचार्य, नारायण गिरी, राष्ट्रपतिका विज्ञ सल्लाहकार लक्ष्मी कार्की, रामनाथ ढकाल, तुलबहादुर गुरुङ पालैपालो गाउँमा पुगिरहन्थे । उनीहरु शैक्षिक विकृति, कम्युनिस्ट आन्दोलन र राजनीतिक परिवर्तनका कुरा गर्थे ।

उनले २०४६ मा शान्तिउदय माध्यमिक विद्यालय निर्मलपोखरीबाट एसएलसी पास गरिन् । २०४५ मै उनको बिहे भएको थियो । बिहेपछि श्रीमानसहित उनी पोखरा झरिन् । व्यवहारिक जीवन यात्रा शून्यबाट सुरु भयो । ‘श्रीमानको एक महिनाको कमाइ ८ सय रुपैयाँ थियो । सबै कुरा किनेर खानुपर्ने, कोठा भाडा २७५ रुपैयाँ थियो । पानी, बत्तिको २५ रुपैयाँ तिर्थे । धेरै संर्घष गरेँ,’ उनले विगत सुनाइन् ।

किशोरावस्थाबाट राजनीति सुरु गरेका धेरै महिला बिहेपछि हराउँछन् । सक्रिय राजनीतिबाट टाढा हुन्छन् । राजनीतिक यात्रामा उनले श्रीमान्को दरिलो साथ पाइन् । सांसदसम्मको यात्रा श्रीमान्कै सम्भव भएको उनको बुझाइ छ । ‘२०४५/४६ तिर गर्भवती अवस्थामा पार्टीका भेला, सम्मेलनमा सहभागी हुन श्रीमान्ले साइकलमा राखेर पुर्‍याउनु हुन्थ्यो । भेला सकिएपछि फेरि लिन आउनुहुन्थ्यो,’ राजकुमारीले राजनीतिक निरन्तरताको राज खोलिन् । जीवनमा दुःख भए पनि पारिवारिक साथले आत्मबल मिल्छ । संघर्ष गर्ने शक्ति दिन्छ । उनी सभासद हुँदा सासूससुरा पनि खुसी छन् ।

बच्चा जन्मेपछि उनी घरभित्रकै काम र छोराहरुको हेरचाहमा लागिन् । छोराहरु ठूलो भएपछि केही सहज हुँदै गयो । २०५६ मा महेन्द्रपुलमा किराना पसल खोलिन् । पसलबाट आम्दानी हुन थालेपछि आर्थिक अवस्था दरिलो हुँदे गयो । त्यसपछि राजकुमारी पुरानै कर्ममा सक्रियतापूर्वक लागिन् ।

उनी नदिपुरको स्थायी बासिन्दा भइन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) नदीपुर कमिटीको सदस्य भएर उनले फेरि सक्रिय राजनीति सुरु गरिन् । महिलालाई समेट्ने, सदस्य बनाउने काममा सक्रिय बनिन् । ३ जनामात्र पार्टी सदस्यबाट उनले १ सय जना सदस्य बनाएकी थिइन् ।

संघको वडा सदस्यबाट अध्यक्ष हुँदै इन्चार्ज भएर काम गरिन् । महानगर कमिटी सदस्य हुँदै सचिवको भूमिका पनि निर्वाह गरिन् । अनेमसंघको जिल्ला कमिटी अध्यक्ष भएर पनि काम गरिन् । अहिले उनी आदिवासी लोकतान्त्रिक जनजाति महासंघ गण्डकी उपाध्यक्षसमेत छिन् । गत फागुनमा भएको पहिलो अनेमसंघ पोखरा महानगरको अधिवेशनबाट दोस्रो कार्यकालका लागि उनी अध्यक्ष निर्वाचित भएकी छन् ।

भुजेल भन्छिन्, ‘सांसद भइएला भनेर राजनीतिमा लागेको होइन । जातीय विभेद, मान्छे मान्छेबीचको भेदभाव हटाउन पार्टीमा लागेको हो । त्यो बेला ज्ञान त थिएन तर यो गलत हो, यस्तो गर्नु हुन्न भन्ने लाग्थ्यो । विद्रोही सोच आउँथ्यो, मन पोल्थ्यो ।’ उनले छोटो कालखण्डमा ठूला ठूला राजनीतिक परिवर्तन देखिन् । ऐन, संविधानमा परिवर्तनका कुरा भए पनि व्यवहारमा पुरानै अवस्था देख्दा उनको मन पोल्छ ।

‘महिलालाई प्रत्यक्षमा चुनाव लडाउनुपर्छ भन्ने मै हुँ तर आज आफैं समानुपातिकबाट निर्वाचित भएकी छु,’ उनी थप्छिन्, ‘प्रत्यक्षमा टिकट पाउँदैमा चुनाव लड्न सहज छैन, महिलाका लागि धेरै चुनौती छन् ।’ परिवर्तनलाई संस्थागत गर्न र व्यवहारमा लागू गर्न उनी खबरदारी गर्ने, आवाज उठाउने गरिरहेकै छिन् । राजकुमारी भन्छिन्, ‘आवाज उठाइरहेका छौं, समयसँगै परिवतर्नन हुँदै जानेछ भन्ने विश्वास छ ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया