स्ववियु निर्वाचनको माहोल, उम्मेदवार बन्न दौडधूप

रिखिराम जिसी २०७९ फागुन २६ गते १०:३६

रिखिराम जिसी, पोखरा ।
नेपालमा सबैभन्दा धेरै विद्यार्थी पढिरहेको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्ववियु निर्वाचनको मिति नजिकिएसँगै माहोल तातिँदै गएको छ । क्याम्पस वरिपरि विद्यार्थीको बाक्लो उपस्थिति देखिन्छ, विद्यार्थी राजनीतिका चर्का बहस पनि भइरहेका छन् । चिया पसलदेखि खाजा घरसम्म विद्यार्थी राजनीतिकै बहस गरिरहेका छन् ।

क्याम्पसका गेटबाहिर प्रचार सामग्री र विद्यार्थी संगठनका सम्पर्क कार्यालय छ्याप्पछ्याप्ती देखिन्छन् । क्याम्पसमा विद्यार्थीको उपस्थिति बिहान होस् या साँझ बाक्लो हुन्छ, केही विद्यार्थी नेता मत आफ्नो पक्षमा पार्न लागिरहेका छन् भने केही विद्यार्थी नेताहरु टिकट पाउन जोडबल गरिरहेका छन् ।

पिएन क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताका लागि २ दिन बाँकी रहँदा चहलपहल बढ्दो छ । मिति नजिकिएसँगै विवाद पनि चुलिँदै गएको छ । क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा बिहीबार बिहान लागेको तालाबन्दी अझै खुलेको छैन । कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा ढोकामा विज्ञप्ति टाँसेर तालाबन्दी गरेका छन् ।

Advertisement

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले विरोध स्वरुप क्याम्पसलाई फागुन २२ गते ज्ञापनपत्र बुझाएको थियो । तर, विवाद समाधान हुन सकेको छैन । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी सामूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो ।

उक्त समूहबाट क्याम्पसको विरोध भइरहेको छ । यसबारे क्याम्पस र विद्यार्थी संगठनबीच बिहीबार छलफल भएको थियो । तर, शुक्रबार सर्वदलीय बैठक बस्ने गरी स्थगित भएको छ ।

Advertisement

केन्द्रबाट निर्देशन नआए एक्लाएक्लै लड्ने मुड
हालसम्म पिएन क्याम्पसमा स्ववियु निर्वाचनका लागि कुनै पनि विद्यार्थी संगठनले गठबन्धन गर्ने निर्णय गरेका छैनन् । अर्थात् केन्द्रबाट कुनै निर्देशन नआए एक्ला एक्लै लड्ने मुडमा विद्यार्थी संगठन देखिन्छन् । ‘केन्द्रबाट आएमा चाहिँ केन्द्रकै निर्देशनमा चल्नुपर्छ । तर, हामी सभापति छोड्दैनौं, केन्द्रबाट केही निर्देशन नआए एक्लै लड्छौं,’ विद्यार्थी संगठनका कार्यकर्ताहरु भन्छन् ।

सभापतिमा कुरा नमिल्दा गठबन्धन हुने सम्भावना कम देखिन्छ । क्रान्तिकारी सभापति टुंग्याएर अगाडि बढिसकेको छ । नेविसंघले पनि सभापतिसहितको कार्यसमितिको नाम पार्टी कमिटीमा बुझाइसकेको छ । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन पनि सभापति नछोड्ने दाउमा देखिन्छ । गठबन्धन गरे पनि एकीकृत समाजवादी निकट अनेरास्ववियु पनि सभापति राख्ने बरु अरु दिने मनस्थितिमा देखिन्छ ।

क्रान्तिकारीले टुंग्यायो, अरु अलमलमै
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अखिल (क्रान्तिकारी) सभापतिको उम्मेदवार टुंग्याएर प्रचारप्रसारमा लागेको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले स्ववियु सभापतिको उम्मेदवार वसन्त भट्टचनलाई बनाउने निर्णय गरिसकेको छ ।

एमालेनिकट अनेरास्ववियु र कांग्रेसनिकट नेविसंघले भने नाम टुंग्याउन सकेको छैनन् । एमालेबाट अनुप लामिछाने र विष्णु पोखरेल सभापतिका मुख्य आकांक्षी देखिन्छन् । अनेरास्ववियुको क्याम्पस कमिटीमा बिहीबार छलफल भए पनि टुंगोमा पुगिसकेको छैन ।

नेविसंघ क्याम्पस कमिटीले भने उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा पार्टीलाई दिएको छ । क्याम्पस कमिटीले सभापतिमा ४ जनाको नामसहित पार्टी कमिटीलाई सिफारिस पठाएको छ । स्ववियु सभापतिको उम्मेदवारमा गौरव बराल, शोभाखर चापागाईं, सुशील न्यौपाने र सञ्जय आलेलाई नेविसंघले सिफारिस गरेको हो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया