निलम्बित सांसद गुरुङलाई सवा करोड जरिवाना

समाधान संवाददाता २०७९ फागुन २६ गते १०:३९

काठमाडौं ।
विशेष अदालतले पूर्वमन्त्री तथा कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङलाई १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना हुने सुनाएको छ । विशेषले गुरुङबाट त्यति नै बिगो असुल्न निर्देशनसमेत दिएको छ ।

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको कसुरमा अदालतले उनलाई सजाय सुनाएको हो । सोही मुद्दामा पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेलाई दोषी ठहर गर्दै ९ वर्ष ६ महिना कैद सुनाएको छ । न्यौपानेलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवानासमेत हुने फैसला भएको छ ।

भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको कसूरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ मा पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । विशेषले गत फागुन १६ मा पूर्वमन्त्री न्यौपाने र गुरुङसहित ९ जनालाई दोषी ठहर र ५ जनालाई सफाइ दिएको थियो । दोषी ठहरको हकमा बिहीबार सजाय निर्धारण भएको हो ।

Advertisement

विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले फागुन १६ गते फैसला गर्दै उनीहरुलाई दोषी ठहर गरेको बताए ।

अख्तियारले प्रतिवादी बनाएका परिषद्का तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरी, तत्कालीन कोषाध्यक्ष रत्न गाहामगर, तत्कालीन उपनिर्देशक बलबहादुर स्वाँर र तत्कालीन निर्देशक मदनप्रसाद रिमाललाई भने विशेषबाट सफाइ पाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया