भजन चुड्का संरक्षण गर्न प्रतियोगिता

समाधान संवाददाता २०७९ फागुन २६ गते १०:४२

पोखरा ।
पोखरामा खुला भजन चुड्का प्रतियोगिता सुरु भएको छ । मौलिक संस्कृति भजन, चुड्काको संरक्षण गर्दै पुस्तान्तरणका लागि पोखरामा आयोजना गरिएको बृहत ज्ञान महायज्ञसँगै राष्ट्रव्यापी खुला लोक भजन प्रतियोगिता बिहीबारबाट सुरुआत भएको हो ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजना पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको उक्त प्रतियोगिता चैत २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका हुन् । उनले भजन, चुड्का संरक्षणलाई साथ र सहयोग गर्ने प्रतिवद्धता गरे । पहिलो दिन ३२ आमा समूहले झाँकीसहित र्‍याली गरेका छन् ।

‘लोक संगीतलाई बचाऔँ, लोक भजन, चुड्कामा भक्तजनलाई नचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताले भजन चुड्काको ज्ञान पुस्तान्तरण गर्ने लक्ष्य राखेको केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले बताए । ‘अहिलेका हाम्रा नयाँ पुस्ताले भजनका आरती पनि गाउन सक्नुहुन्न । लोकगीत जति पनि गाउनुहुन्छ तर धारवाही भजन गाउन सक्दैनन्, गाउने बनाउनका लागि पनि हामीले यो कार्यक्रम गर्दछौँ,’ अध्यक्ष पराजुलीले भने ।

Advertisement

प्रतियोगिताका लागि हालसम्म २७ टिमले नाम दर्ता गराएको अध्यक्ष पराजुलीले बताए । ‘हालसम्म देशैभरबाट २७ टिमले नाम दर्ता गराएका छन् । चैत २ गतेसम्म नाम दर्ता गराउन सकिने भएकाले सहभागी संख्या अझै बढ्छन्,’ उनले भने । सबै भजनको अडियो भिडियो संकलन गरेर संग्रहालयमा राखिने उनको भनाइ छ ।

प्रतियोगितामा पहिलो हुने समूहलाई ५१ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । दोस्रो हुने समूहलाई ३१ हजार, तेस्रो हुने समूहलाई २१ हजार र सान्त्वना हुने समूहलाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट नृत्य, भाँकी, अनुशासन र भेषभूषातर्फ ७ हजार ५ रुपैयाँले प्रदान गरिने आयोजकको भनाइ छ । प्रतियोगितमा नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘भजन च्याम्पियन’ मा सहभागी ३२ समूह प्रतियोगिताबाटै छनोट गरिनेछ ।

Advertisement

३५ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता एवं ज्ञान महायज्ञबाट १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको खनालले बताए । उनका अनुसार आम्दानीबाट पोखरामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन निर्माण गरिनेछ । महायज्ञमा चैतन्यकृष्णले कथा वाचन गर्नेछन् ।

भजन, चुड्कालाई बचाइराख्ने अभियानमा अग्रसर भएको प्रतिष्ठानले २०६८ सालदेखि काम गर्दै आएको छ । अहिले देशभरका ४६ जिल्लामा र गण्डकीका ९ जिल्ला प्रतिष्ठानले जिल्ला समिति गठन गरेर भजन चुड्का गाउने नाच्ने कलाकारलाई संगठित गरेको छ ।

तपाईको प्रतिक्रिया