‘पर्यटन प्रवद्धर्न गर्न महिला नेतृत्व’

समाधान संवाददाता २०७९ फागुन २६ गते १२:२८

पोखरा ।
आर्थिक उन्नतिका लागि पर्यटन प्रवद्र्धनमा महिला नेतृत्व अपरिहार्य रहेको नवलपुर हुप्सीकोट गाँउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोलीले पोखरा–चितवन–नवलपुरका पर्यटन व्यवसायीसँग व्यवसायीक अवसर र चुनौती विषयक गरेको अन्तरक्रियामा उनले महिला आफैं व्यवसायी बन्नुपर्ने धारणा राखिन् ।

Advertisement

पयर्टन विकासमा सही मार्गनिर्देश गर्न महिलाको भूमिका महत्वपूर्ण मात्र नभई अपरिहार्य रहेको अध्यक्ष पाण्डेले बताइन् । उनले पोखराका पर्यटन व्यवसायी महिला गोलबद्ध भई पर्यटन प्रवद्र्धनमा अग्रसर बनेकोमा खुसी व्यक्त गरिन् ।

गाँउपालिका राष्ट्रिय महासंघ अध्यक्षसमेत रहेकी पाण्डेले नीति निर्माणमा महिलाको सहज पहुँच बनाउन सके उनीहरुमा केही गर्न सकिन्छ भन्ने ऊर्जा थपिने बताइन् । ‘देशको आर्थिक उन्नतिको बाटो पहिल्याउन महिला नेतृत्व आवश्यक छ । नीति निर्माणमा सुधार गर्न सके हरेक ठाँउमा महिला व्यवसायीलाई प्रेरणा मिल्छ,’ उनले भनिन् ।

महिला पर्यटन व्यवसायी मञ्च अध्यक्ष उमा भण्डारीले संस्थाले पर्यटन व्यवसायी महिलाको क्षमता, दक्षता सुधारसँगै आन्तरिक, बाह्य पर्यटन प्रर्वद्धनमा जोड दिएको बताइन् । कोभिडबाट थलिएको पर्यटन केही हदसम्म उकासिए पनि सन्तोषजनक हुन नसकेको उनको बुझाइ छ ।

‘पर्यटन प्रवद्र्धन हाम्रो उदेश्य हो ।, हामी जहाँ जान्छौं, त्यस ठाँउमा पर्यटन व्यवसायीसँग केही सिक्ने र जानेको सिकाउने गर्छौं । पर्यटनका दृष्टिले नेपालमा सम्भावना छ तर पनि यसको उचित विकास र खोजीमा अहिले पनि हामीपछि छौं । यसमा पनि महिला झनै कमै छन्’, भण्डारीले भनिन् ।

Advertisement

नवलपुर अँमलटारी होमस्टे अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले पहिलो पटक महिला पर्यटन व्यवसायी संस्था भेटने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘महिला पर्यटन व्यवसायी मञ्च पहिलो पटक नाम सुनें । यो उत्साह र लगाव देखेर निकै खुशी लाग्यो ,’ थारुले भने ।

उनले पर्यटन व्यवसायी महिलाको आगमनले आफ्ना क्षेत्रका महिलामा हौसला मिल्ने बताए । होमस्टे महासंघका अध्यक्षसमेत रहेको उनले २०६९ सालमा आफूले नवलपुर अमलटारीका होमस्टे सञ्चालन गर्दाका समस्या सम्झदै सानो सोचले पनि ठूलो परिवर्तन गर्न सक्ने बताए ।

‘यो होमस्टे सञ्चालन गर्ने कल्पना गर्दा कतिपयले मलाइ ‘गधा’ मान्छे पनि भने । सर्घष गर्दै जाँदा त हुने रहेछ । सानो सोचले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहारण हो’, उनले थपे । संस्थाका निवर्तमान अध्यक्ष पार्वती पाण्डेले पोखरामा जस्तै अन्य ठाउमा पनि पर्यटन व्यवसायी महिला समूह स्थापना गर्न सुझाइन । हरेक क्षेत्रमा महिला पर्यटन समूह गठन गर्दा त्यस क्षेत्रको पर्यटनमा सहयोग पुग्ने उनको बुझाइ छ ।

संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्दापछाडि रहेका व्यवसायी महिलालाई अगाडि ल्याउन २०७४ सालमा संस्था स्थापन गरी निरन्तर क्षमता विकास, दक्षताका साथै पर्यटन प्रवद्र्धर्न गर्दै आएको जनाइन् । संस्थाका सल्लाहकार नर्मला कँडेलले महिलाले घर धान्नुपर्ने बाध्यतासँगै व्यवसायमा पनि पुरुषले भन्दा बढी समय दिने गरेको दाबी गरिन् ।

गाँउ पर्यटन प्रवद्धर्न (भिटोफ) गण्डकीका सचिव तथा संस्थाका कार्यसमिति सदस्य सुशीला भण्डारीले देशभरका अधिकांश होमस्टेमा व्यवसायीले अर्गानिक खाना उपलब्ध गराउन नसक्नु कमजोरी रहेको टिप्पणी गर्दै सुधार गर्नुपर्ने सुझाइन् । नारी दिवसको अवसर पारेर संस्थाका उपाध्यक्ष ममता न्यौपानेको संयोजकत्वमा पोखरा–चितवन–नवलपुरका पुगेका महिला व्यवसायिक टिमका ३० जना प्रतिनिधि सहभागी थिए ।

तपाईको प्रतिक्रिया