जाडो घटेपछि मुस्ताङमा पर्यटकको चहलपहल

सुन्दरकुमार थकाली २०७९ फागुन २८ गते ११:१७

जोमसोम ।
हिउँद यामको मौसम कम भएर न्यानो याम सुरु भएको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पुस र माघ महिनामा ठप्प रहेको यहाँको पर्यटन गर्मी सुरु भएसँगै सुधारिएको छ । अहिले मुस्ताङ भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकको लर्काे छ ।

पर्यटक सवार मुस्ताङ आएका सवारी साधन बेनी– जोमसोम सडकमा लस्करै देख्न पाइन्छ । त्यसो त मार्च १ देखि पोखरा–जोमसोम हवाइ सेवा सञ्चालनमा आएपछि हवाई मार्गबाट मुस्ताङ आउने पर्यटकको संख्या पनि बढ्दै जान थालेको छ ।

अहिले बेनी जोमसोम सडक मार्ग हुँदै दैनिक दर्जनौं सवारी साधन मुस्ताङ आउने गरेको प्रहरी चौकी घाँसाले जनाएको छ ।

Advertisement

मुस्ताङ आउने हवाइ मार्गका विदेशी पर्यटक्समेत बढेपछि अहिले दैनिक १०/१२ उडान भइरहेको जोमसोम नागरिक उड्यन कार्यालयले जानकारी दिएको छ । अहिले तारा एअर र समिट एअरका जहाजले नियमित उडान गरिहेको तारा एअर जोमसोमका प्रतिनिधि सुजन लालचनले जानकारी दिए ।

उनले वसन्त ऋतुको आगमनसँगै पर्यटकीय सिजन सुरु भइसकेकाले पोखरा–जोमसोम हवाई उडान अझै वृद्धि हुने दाबी गरे । हिउँद यामको चिसोले सुस्त बनेको मुस्ताङको पर्यटन चलायमान भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथआसपास र उपल्लो मुस्ताङमा संञ्चालित पर्यटक लक्षित होटलसमेत पर्यटकले भरिभराउ छन् ।

Advertisement

घरपझोङ ५ ठिनीको ग्रामीण होमस्टेसमेत आन्तरिक पर्यटक जान थालेका छन् । सस्तो, सुहाउँदो, हिमाली उत्पादनको बेग्लै स्वाद लिन पर्यटन होमस्टेमा आउने गरेको ठिनी होमस्टेकी सचिव जुमा थकाली बताउँछिन् ।

मुक्तिनाथ होटल ग्रान्ड साम्बलाका प्रोपाइटर सुरज गुरुङले भारतीय र स्वदेशी पर्यटक धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आउँदा भीडभाड बढेको बताए । हिमाली जिल्ला भ्रमण गर्ने अनुकू मौसम सुरु भएसँगै स्वदेशी पर्यटक मुक्तिनाथ दर्शन गरी उपल्लो मुस्ताङको कोरला नाकासम्म पुग्छन् । विदेशीले भने कोरला नाका जान पाउँदैनन् ।

विदेशी उपल्लो मुस्ताङको छोसेर स्थित नेचुङसम्म मात्र जान पाउँछन् । उपल्लो मुस्ताङ एक्यापको निषेधित र नियन्त्रित क्षेत्र अन्तर्गत पर्ने भएकाले त्यहाँ जाने विदेशी पर्यटकले १० दिनको प्रवेशआज्ञा अनुमतिस्वरुप ५ सय डलर नेपाल सरकारको अध्यागमन विभागमा तिर्नुपर्ने हुन्छ ।

उपल्लो मुस्ताङको पृथक भूगोल, धार्मिक, मौलिक कला, संस्कृति र त्यहाँको पुरातात्विक सम्पदा अवलोकन गर्न विदेशी पर्यटक लालायीत हुन्छन् । नेपाली पर्यटकले लोमान्थाङ दरबार, छोसेर गुफा, उपल्लो मुस्ताङको जियोलोजिकल भूबनोट र नाका नियाल्छन् । जोमसोमबाट कोरला नाका सवारी साधनमा ६ घण्टामा पुग्न सकिन्छ । तर, अधिकतर भारतीय पर्यटक भने मुक्तिनाथमात्रै दर्शन गरी फर्किन्छन् ।

१० दिनमै १८४४ सय विदेशी पर्यटक
पर्यटकीय सिजनसँगै मार्चका १० दिनमै १ हजार ८ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । सन् २०२३ को मार्च १ देखि ११ तारिखसम्म १ हजार ७ सय १४ सार्क र १ सय ३० जना तेस्रो मुलुकका विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै हालसम्म ३ हजार ६ सय ६९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । जसमध्ये ३ हजार २ सय ४२ जना सार्क र ४ सय ५५ जना तेस्रो मुलुकको पर्यटक रहेको एक्यापका कार्यालय प्रमुख सुवेदीले बताए । जनवरीमा १ सय ३१ जना, फ्रेब्रुअरीमा १ हजार ६ सय ६९ जना र मार्च ११ तारिखसम्म १ हजार ८ सय ४४ जना विदेशी मुस्ताङ भित्रिएका हुन् ।

सन् २०२२ मा ६५ हजार ९ सय ४० जना विदेशीले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये ४६ हजार ७ सय २४ जना सार्क र १९ हजार २ सय ६ जना तेस्रो मुलुकका पर्यटक थिए । सन् २०२२ मा ४८ राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । मुस्ताङ भ्रमण गर्ने सार्क राष्ट्रका पर्यटकमध्ये अधिकतर भारतीय हुन्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया