अनिषलाई दौड उपाधि

समाधान संवाददाता २०७९ फागुन २८ गते ११:४५

स्याङ्जा ।
डिफेन्डिङ च्याम्पियन भारतीय सेनाका अनिष थापामगरले तेस्रो संस्करणको ७ सय कोल्मा बहाकोट क्रस कन्ट्री दौड प्रतियोगिता जितेका छन् ।

७ सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजना र कोल्मा बहाकोट समाज युकेको मुख्य प्रायोजन र स्याङ्जा समाज युकेको सहप्रायोजनमा भएको दौडमा फलेबास २ थापाठाना पर्वतका थापामगरले निर्धारित २० किमी १ घन्टा ४ मिनेट ३६ सेकेन्डमा पार गरे ।

उनले प्रतियोगिताको उपाधिसँगै नगद ३५ हजार, मेडल र प्रमाणपत्र पाए । नेपाल आर्मीका खेबराज बस्नेत निर्धारित दूरी १ घन्टा ६ मिनेट ५६ सेकेन्डमा पूरी गरी दोस्रो बने । बस्नेतले नगद २५ हजार, मेडल र प्रमाण प्रत्र प्राप्त गरे । प्रतियोगितामा आर्मीकै सुवास कार्कीले १ घन्टा ८ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो बने । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Advertisement

२१ वर्षमुनिको १० किलोमिटर पुरुष दौडको उपाधि सिरानचोक २ हर्मी गोरखाका सन्दीप ढकालले हात पारे । ४३ मिनेट ३० सेकेन्डमा दूरी पार गर्दै ढकालले नगद १५ हजार, मेडल र प्रमाणपत्र पाए । गोरखाकै दिनेश बोगटीले निर्धारित दूरी ४४ मिनेट २० सकेन्डमा पूरी गरी नगद १० हजार मेडल र प्रमाणपत्र पाएका छन् ।

रुकुम पुथाउत्तरगंगाका मनोज रोकामगर निर्धारित दूरी ४६ मिनेट ५ सेकेन्डमा पार गर्दै तेस्रो बने । उनले नगद ७ हजार, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्ने्लाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । १० किलोमिटर दौड पार गर्ने २ महिला पनि सो अवसरमा सम्मानित भए ।

Advertisement

विजेतालाई अन्तर्राष्ट्रिय अल्ट्रा धावक मीरा राई, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष जितबहादुर गुरुङ, छिमेकी गाउँ समाज हङकङ अध्यक्ष प्रेमथापा मगर, कोल्मा बहाकोट समाज युकेका सल्लाहकार धनकाजी गुरुङ, कोल्मा बहाकोट आमा समुह युकेकी अध्यक्ष हुमकुमारी गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

समारोहमा अन्तर्राष्ट्रिय अल्ट्रा धावक राइले युवालाई खेलकुदमा सहभागी गराउनका लागि क्रस कन्ट्री दौड जस्ता प्रतियोगिताले उल्लेख्य भूमिका खेल्ने बताइन् । पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले सात सय कोल्मा लाइ समेटेर कोल्मा मात्र नभई पुतली बजार नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बिरुवा गाउपालिकालाई समेत खेलको माध्यामबाट जोड्ने काम गरेकोमा धन्यवाद दिइन् ।

तपाईको प्रतिक्रिया