शितल ज्योति कपमा एलजी एकता विजयी

समाधान संवाददाता २०७९ फागुन २८ गते १३:०६

पोखरा ।
शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधि एलजी एकताले जितेको छ । पोखराको अमरसिंह चौरको खेल मैदानमा शनिबार निकै प्रतिस्र्धात्मक खेलमा एलजीले रत्न सेवा समाजको समूहलाई सडेन डेथमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जितेको एलजी एकताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँका साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता भएको समाजले ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । निर्धारित समय २५/२५ मिनेट र थपिएको ५/५ मिनेटमा समेत गोल हुन नसकेपछि टाइब्रेकरमा दुबैतर्फ ३/३ गोल भए भएको थियो ।

Advertisement

टाइब्रेकरको सडेन डेथमा ७–६ मा एलजीले रत्न सेवा समाजलाई पराजित गर्दै उपाधि जितेको हो । सडेन डेथमा समाजका गोलरक्षक विश्वास पौडेलले प्रहार गरेको पेनाल्टी सुट क्रसबारमा लागेर फर्कीएको थियो । एलजीका गोलरक्षक कृष्ण गुरूङले सडेन डेथमा गोल गरे ।

प्रतियोगितामा इलाइट फुटवल क्लब अनुशासित टिम घोषित भएको छ । ई—लाइटले ट्रफीका साथमा नगद ८ हजार पुरस्कार प्राप्त गर्‍यो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडी राईलाई माउण्टेन वाइक पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेन्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिड फिल्डरमा समाजका नकुल तामाङ, सर्वाधिक गोलकर्ताको उपाधि ६ गोल गरेका तारा एफसीका मनिस थापा मगरले पाए ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित भए । विभिन्न विधामा उत्कृष्ट भएका उनीहरुलाई जनही ५ हजारका साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया