पोखरा २५ मा स्थानीयका गुनासा र जिज्ञासा

समाधान संवाददाता २०७९ फागुन २८ गते १३:२९

पोखरा ।
पोखरा महानगरपालिकामा लामो समयको अन्तरालमा सार्वजनिक सुनुवाइ भएको छ । शुक्रबार पोखरा महानगरपालिका नगरपालिकाको कार्यालय र पोखरा २५ नम्बर वडा कार्यालयको आयोजना साथै रेडियो पश्चिम पोखरा १०७.९ मेगाहर्जको समन्वयमा पोखरा २५ मा सार्वजनिक सुनुवाइ भएको हो ।

Advertisement

स्थानीयले सार्वजनिक सुनुवाइ कार्यक्रममा वडावासीले खुलेर आफ्ना जिज्ञासा, गुनासा तथा समस्या राखेका थिए । वडावासीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि घरको अभिलेखीकरण, सार्वजनिक जग्गा अभिलेखीकरण, महानगरमा बढेको बेरुजु, पोखराको पुरानो बसपार्क, भूवर्गीकरण, चौरासी नहरको व्यवस्थापन, सरसफाइ मेलमिलाप समितिको निष्क्रियता, सेती नदीको दोहन, पोखरा २५ मा चल्ने नगरबसको असुविधा, वडा भवनको निर्माण विषय साथै योजनाको प्राथमिकीकरण, चुनावका बेलामा जनाएका प्रतिबद्धता अनुसारको काममा भएको ढिलासुस्ती लगायत गुनासा राखेका थिए ।

कार्यक्रममा वडावासीका गुनासा तथा जिज्ञासाको जवाफ पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिना लगायत सम्बन्धित क्षेत्रका विषय विशेषज्ञ तथा प्रमुखहरुले दिएका थिए । उनीहरुले समस्या समाधानका लागि भएका कार्यप्रगतिहरुको बारेमा स्पष्ट पारेका थिए ।

पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीले महानगरसँग सम्बन्धित रहेर आएका गुनासाहरुको जवाफ दिँदै महानगरबाट हुने सेवा प्रवाह चुस्त बनाउने प्रण गरे । उनले घर अभिलेखीकरणको नीतिगत विषय महानगरस्तरमै गरिएको निर्णय भएको स्पष्ट पारे ।

उनले महानगरको बेरुजु घटाउने विषयमा विभिन्न समितिहरु (सार्वजनिक लेखा समिति र कर्मचारी समिति) रहेको र ति समितिहरु बेरुजु घटाउन सकरात्मक र सक्रिय रहेर काम गरेको उल्लेख गरे ।

Advertisement

वसपार्क निर्माण सम्बन्धी अध्ययन समितिले बनेको र समितिको निर्णयअनुसार ८२ सालसम्म वसपार्क बनाउने लक्ष्य रहेको बताए । उनले निकट भविष्यमै अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा प्रदूषण रहित नगर बस चलाउने योजना रहेको बताउँदै यो सुविधा २५ नम्वर वडावासीले पनि लिन पाउन भन्नेमा आशावादी रहेको उल्लेख गरे ।

महानगरका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद अर्यालले स्वास्थ्य सम्बन्धी प्रश्नहको जवाफ दिँदै स्वास्थ्य क्षेत्रमा सुधार गर्न महानगरले कुनै कसर बाँकी नराख्ने बताए । उनले पोखरा २५ हेमजा स्वास्थ्य चौकीमा छिटै कर्मचारी तथा स्वास्थ्यकर्मी थप्दै सेवा सेवा विस्तार गर्ने जानकारी दिए ।

पोखरा २५ हेमजा स्वास्थ्य चौकीका प्रमुख कुस्मराज सुवेदीले हेमजा स्वास्थ्य चौकीमा भवन जस्तै सेवा प्रवाहलाई पनि सुविधायुक्त बनाउने बताए । उनले स्वास्थ्य चौकीमा नेपाल सरकारले निशुल्क तोकेका अधिकांश औषधी उपलब्ध रहेको जानकारी दिए ।

कार्यक्रममा कृषिसम्वन्धी प्रश्नहरुको जवाफ दिँदै महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जग्गाको वर्गीकरण भूउपयोग नियमावली अनुसार नै गरिएको स्पष्ट पारे । पोखरा २५ का खानेपानी शाखा प्रमुख सन्तोष श्रेष्ठले खानेपानीको शुद्धताका साथै खानेपानीको ट्याङकी निर्माण, पाइप व्यवस्थापन लगायत विषयमा प्रष्ट पारेका थिए ।

पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का अध्यक्ष मोतीराज तिम्सिनाले सहभागीबाट आएका जिज्ञासाहरु घर अभिलेखीकरण, मेलवोट व्यायामशाला, सार्वजनिक जग्गा अभिलेखीकरण, सामुदायिक विद्यायलयमा शैक्षिक सुधारका लागि गरिएका प्रयास, हेमजाबाट नगरबसको सुविधा, चौरासी नहरको पुननिर्माण, जग्गामा मेसिनको प्रयोग, याम्दीको सिमाना, ढल निकास, सरसफाइ, राजमार्गको दुर्घटना न्यूनीकरण, योजना प्राथमिकीकरण, रणनीतिक योजना, सेति नदीमा ड्याम निर्माण लगायतका विषयका जिज्ञासाका बारेमा प्रस्ट पारेका थिए ।

रेडियो पश्चिम पोखराका स्टेसन म्यानेजर मोतीसागर अधिकारीले सहजीकरण गरेको कार्यक्रममा विश्वराज पौडेल, शंकर त्रिपाठी, भीम श्रेष्ठ, नेत्रपाणि भण्डारी, दीननाथ अधिकारी, कृष्णप्रसाद सुवेदी, अम्बर कुँवर, सिर्जना सापकोटा, चित्रनाथ पौडेल, शालिकराम पौडेल, तमबहादुर रोक्का, नारायणबहादुर कुँवर, हेमबहादुर कार्की, मदन थापा, ऋषिराम पौडेल, खेमनारायण अधिकारी लगायतले गुनासा तथा प्रश्नहरु राखेका थिए ।

कार्यक्रममा वडाका सेवा प्रवाहलाई चुस्त, प्रभावकारी, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले वेबसाइट सुरुआतसमेत गरिएको छ । आगामी दिनमा वडावासीले वडाका सम्पूर्ण गतिविधिहरु वेबसाइटमार्फत नै जानकारी दिन र सुझाव दिनसमेत सक्ने कार्यक्रममा बताइएको छ ।

पोखरा २५ स्थित गौरीशंकर प्राविको प्रांगणमा भएको कार्यक्रममा महानगरपालिकाका प्रतिनिधि, वडा नम्बर २५ का जनप्रतिनिधिहरु, विभिन्न संघसंस्था प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनितिक दलका प्रतिनिधिहरु, वडावासीहरु, पत्रकार गरी १३८ जनाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया