तरकारी तथा फलफूल इकाइमा भेषराज

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन तरकारी तथा फलफुल ढुवानी इकाइ कमिटीको १३ औं अधिवेशन शनिबार भएको छ ।
‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको अधिवेशनले अध्यक्ष भेषराज अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । इकाइमा उपाध्यक्ष रवीन्द्र बाग्दास, सचिव विशाल तामाङ, सहसचिव रामहरि न्यौपाने र कोषाध्यक्ष सीताराम अधिकारी छन् । सदस्यमा रोशन श्रेष्ठ, रमेश भट्ट ‘क’,उपेन्द्र दवाडी, सोमबहादुर थापा र मछिन्द्रसेनहाङ लिम्बु छन् ।
नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य भीम कार्कीले अधिवेशनको उद्घाटन गर्दै नीति, विधि र कानुन बनाएर श्रमको सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । ‘श्रमको सम्मान र श्रमजीवीलाई माया गर्ने समाज छैन । त्यसलाई बदल्नुपर्छ,’ उनले भने, ‘श्रमिकले उत्पादन नगरेसम्म ठूला मान्छेको भान्सा चल्दैन ।
श्रमको महत्व बुझाउन र औचित्य पुष्टि गर्न लाग्नु पर्छ ।’ किसान तथा श्रमिकले उत्पादन गर्ने र व्यवस्थापनले ती सामग्रीको बजारीकरणको लागि सहजीकरण गर्ने उल्लेख गरे । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्र खत्रीले गण्डकी प्रदेशमा श्रमिकको सहभागितामा नीति कानुन निर्माण गर्न माग गरे ।
संगठनका केन्द्रीय महासचिव केशव थापा ‘निरु’ले माल सामानको ढुवानी श्रमिकको सवभन्दा जोखिमको काम भएको जानकारी दिए । माल सामान लोड तथा अनलोडमा काम गर्ने श्रमिकको सुरक्षाका लागि संगठनले योजनाबद्ध ढंगले काम गर्ने उनले उल्लेख गरे ।
श्रमिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वरप्रसाद आचार्यले यातायात स्वतन्त्र मजदूर संगठनले तरकारी र फलफुल ढुवानीमा काम गर्ने क्षेत्रमा युनियन बनाएपछि आमुल परिवर्तन भएको दाबी गरे ।
कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुली, केन्द्रीय ढुवानी संयोजक मेघबहादुर न्यौपाने, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद कँडेल, संघका पूर्व अध्यक्ष भरतबहादुर पौडेल, कृषि बजार व्यवस्थापन समितिका निमित्त बजार व्यवस्थापक महेन्द्रसिंह थापा, संगठन गण्डकी प्रदेश कमिटी सदस्य तथा तरकारी तथा फलफुल ढुवानी इकाइ इन्चार्ज टीकाराम अधिकारी, इकाइका अध्यक्ष पित्मबहादुर पौडेल, इकाइ सचिव रवीन्द्र बाग्दास, संगठनका लामो दूरी बस इकाइ समिति अध्यक्ष खेमबहादुर भुजेल ‘अभिनास’ तरकारी तथा फलफूल ढुवानी चितवनका अध्यक्ष ओमलाल थिङ, सल्लाहकार टीकाराम अधिकारी, कृषि उपज महिला समूहका अध्यक्ष मीना गिरी लगायतका वक्ताले तरकारी तथा फलफूल ढुवानी गर्दा आइपरेका समस्याबारे धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया