बासथलाको आफ्नै भवन

समाधान संवाददाता २०७९ फागुन २८ गते १३:५२

पोखरा ।
बासथला गनगने पँधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पोखरा १३ आर्वाको १७ औं साधारणसभाको अवसरमा नवनिर्मित कार्यालय भवन उद्घाटन भएको छ ।

Advertisement

शनिबार भएको कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बरालले खानेपानी जस्तो संवेदनशील बिषयमा वडावासीलाई सेवा दिन कार्यालय प्रयासरत रहेको जनाए । उनले आर्वाका करिब साढे २ सय उपभोक्ता सदस्य रहेको उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवन पनि उद्घाटन गरे ।

करिब २२ किलोमिटर टाढाबाट ल्याइएको सो खानेपानी घर घरमा मिटर सिस्टमद्वारा वितरण हुन्छ । उनले खानेपानी उपभोक्ता समितिलाई वडबाट छुट्याएर नै थप व्यवस्थापन गर्ने वाचा गरे ।

कुनै वडावासी पनि खानेपानीबाट बञ्चित हुन नपरोस् भनी योजनाबद्ध ढंगले कामअगाडि बढेको अध्यक्ष बरालले सुनाए । उनले उपभोक्ताबाट नै सञ्चालित यस खानेपानी समितिलाई विशेष बजेटको व्यवस्था गर्ने घोषणा गरे ।

मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले उपभोक्ता स्तरमा सञ्चालनमा रहेको यो उपभोक्ता समितिले ठूलो मेहनतका साथ सयौं उपभोक्तालाई खानेपानी उपलब्ध गराएको जनाए । उनले समितिले काम गरे पनि सबै उपभोक्ताबाट उचित सहयोग नपाएको महसुस भएको उल्लेख गरे ।

Advertisement

बासथला गनगने पँधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष नरबहादुर बरालले समितिले पिउने पानी आधारभूत अवश्यकता भएकाले उपभोक्तालाई यसको अभाव हुन नदिने गरी काम गर्दै आएको बताए ।

बरालले स्रोत, साधनको कमी, प्राविधिक कठिनाई तथा मौसमी प्रतिकूलता जस्ता कारणले अपेक्षित सुविधा दिन नसके पनि सो क्षेत्रका सबै नागरिकको पहुँच सुनिश्चित गर्न लागिपरेको सुनाए ।

कार्यक्रममा अमरज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बिमलबहादुर बराल, थापाको चौतारा टोल विकास संस्थाका अध्यक्ष राधाकृष्ण बराल, जागरण आमा समूहकी सचिव नमुना बराल, उपभोक्ता शिवप्रसाद बराल, उपाध्यक्ष घनश्याम बराल, सचिव सावित्री सिग्देल र सदस्य बद्रीप्रसाद देवकोटाले बोलेका थिए ।

सभाले अध्यक्ष नरबहादुर बरालद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मधुमाया बरालको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

तपाईको प्रतिक्रिया