सरकार २९ अर्ब ६४ करोडले घाटामा

राष्ट्रिय समाचार समिति (रासस) २०७९ फागुन २८ गते १७:०१

काठमाडौँ ।
चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता रु चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति रू एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी रू एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले रू १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया