महानगरका १० कर्मचारीलाई १५ हजार र कडरियालाई २५ हजारको पुरस्कार

पोखरा ।
प्रभातफेरी, विजपुरखोला सरसफाई खेलकुद प्रतियोगिता गरेर पोखरा महानगरपालिकाले मनाएको छ । नगरपालिका स्थापनाको ६३ औं एवं राज्य पुनसंरचनापछिको ७ औं स्थापना दिवसको सन्दर्भमा आइतबार चिप्लेढुंगास्थित मानव अधिकारचोकबाट न्युरोड हुँदै पोखरा सभागृहसम्म प्रभात फेरी सहित मूल समारोह गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा चराचुरुंगी र जंगली जनावरहरुको समस्यालाई न्यूनीकरण गर्न विजयपुर खोला आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ ।
महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भएको छ । मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधिको समूह र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको नेतृत्वमा कर्मचारीहरूको समूहबीच मैत्रीपूण फुटबल प्रतियोगिता भएको मेयर आचार्यले बताए ।
महानगरको स्थापना दिवसको अवसरमा आर्थिक महाशाखा (कृषि)का प्रमुख मनोहर कडरिया नगद २५ हजार सहित सर्वोच्च कर्मचारीको रुपमा सम्मानित भएका छन् । समारोहमा १० जना उत्कृष्ट कर्मचारीलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सम्मानित हुनेमा इन्जिनियर नेत्र तिमिल्सिना, तथ्यांक अधिकृत प्रमोद गुरुङ, प्रशासन महाशाखामा कार्यरत लोकदर्शन कोइराला, सहरी विकास, पर्यटन तथा वातावरण महाशाखामा कार्यरत हर्क गायक छन् ।
वित्त व्यवस्थापन महाशाखाका रवीन्द्र अधिकारी, स्वास्थ्य महाशाखाका हरेन्द्रदेवी पोखरेल, प्रशासन (नगर प्रहरी) पुरुषोत्तम थापा, पूर्वाधार महाशाखाका सवारी चालक लक्षु गायक, प्रशासन महाशाखामा कार्यरत रोशनी थापामगर र वडा कार्यालय पोखरा १३ मा कार्यरत शर्मिला भण्डारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा होटल ग्राण्ड, समयमा योजना सम्पन्न गर्ने पोखरा २६ को प्रगति टोल सडक तथा ढलान निर्माण समितिलाई सम्मानपत्र प्रदान गरिएको छ ।
समारोहमा नेपाल सहरी उत्थानशील परियोजना (सुदृढ), जग्गा वर्गिकरणमा योगदान पु¥याउने नापी अधिकृत प्रदिप श्रेष्ठ, इन्जिनियर शोभा आचार्य, वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक प्रवीण आचार्य र योगगुरु विक्रम खड्कालाई स्थापना दिवसको अवसरमा सम्मान गरिएको उपमेयर मञ्जु गुरुङले जानकारी दिइन् ।
महानगरमा ३० वर्ष सेवा अवधि पूरा गरेका २६ जना कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको छ ।
वातावरण संरक्षण तथा सरसफाइमा योगदान पुर्याउने नेपाली सेनामा पश्चिम पृतना हेड क्वाटर विजयपुर,वातावरण संरक्षण महाअभियान कास्की, गण्डकी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरीबल मुक्तिनाथ वाहिनी,राइजिङ स्टार युवा क्लब पोखरा २७, भूपू सैनिक बचत तथा ऋण सहकारी, दीप शिखा सहकारीलाई सम्मानपत्र प्रदान गरिएको महानगरले जनाएको छ ।
कार्यक्रममा महानगरले ट्राफिक व्यवस्थापनको लागि जिल्ला ट्राफिक कार्यालय कास्कीलाई विद्युतीय सवारी साधन (२ थान स्कुटर) ३थान साइकल प्रदान गरेको छ ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले स्थापना दिवसको अवसरमा प्रकाशित पोखरा दर्पणको विमोचन गरे । उनले न्यायिक, व्यवस्थापिका र कार्यपालिकाको जिम्मेवारी पाएको स्थानीय तहले आफैमा सरकारको काम गरेको बताए ।
उनले नीति कानुन, निर्देशिका तथा कार्यविधि बनाएर काम गर्ने पालिकालाइ अहिले कर लगाउने अधिकार रहेको उनले उल्लेख गरे ।
गण्डकी प्रदेशका कृषि तथा जलश्रोत मन्त्री बेदबहादुर गुरुङले साविक गाउँपालिकाबाट महानगरमा समायोजन भएका वडाहरुमा महानगर स्तरीय भौतिक पूर्वाधारको काम गर्न सुझाव दिए । उनले ग्रामीण वडालाई समन्यायिक ढंगले विकास गर्न महानगरलाई आग्रह गरे ।
पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले पोखरालाई जीवन्त र हरेक क्षेत्रलाई चलायमान बनाउने गरी काम गर्न महानरलाई सुझाव दिए । उनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधता भएको पोखराको लागि अवसर र चुनौती दुबै रहेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, प्रवक्ता तथा पोखरा २५का अध्यक्ष मोतीराज तिम्सिना, नेपाली कांग्रेसका सचेतक तथा पोखरा २का अध्यक्ष दिवसमान प्रधानाङ, नेकपा (एमाले)का सचेतक तथा पोखरा १७का अध्यक्ष राधिकाकुमारी शाहीले महानगरले गरेका विकास निर्माणको बारेमा बोलेका थिए । ‘समुन्नत पर्यटकीय पोखरा’ भन्ने नाराका साथ कार्यक्रम भएको छ ।
तपाईको प्रतिक्रिया