मुस्ताङका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

सुन्दरकुमार थकाली २०७९ फागुन २९ गते १०:२०
मुस्ताङको जोमसोम स्थित जनहित माविका विद्यार्थीहरु ।

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङका विद्यार्थीहरुले नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको एक महिना बितिसक्दासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन् । मुस्ताङमा मंसिरको अन्तिम साता वार्षिक परीक्षा लिएर फागुन महिनामा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन्छ ।

मुस्ताङमा शैक्षिक सत्र सुरु हुने बित्तिकै पाठ्यपुस्तक हात नपर्ने समस्या वर्षाैं पुरानो हो । नयाँ शैक्षिक सत्र सुरु भएको दुई/तीन महिनासम्म पाठ्यपुस्तक उपलब्ध नहुँदा यहाँका विद्यार्थीको पठनपाठन प्रभावित छ । विद्यार्थीको हातमा समयमा पाठ्यपुस्तक नपर्दा पठनपाठनमा समस्या भएको घरपझोङ ४ जोमसोमस्थित जनहित माध्यमिक विद्यालय कक्षा १० का छात्र सुमन थकालीले गुनासो गरे । ‘बर्सेनि मुस्ताङमा हामीले यस्तै, समस्या भोग्नुपरेको छ । तर, सरकारको शिक्षा नीति र सरोकारवाला निकाय बेखर झै हुन्छन्,’ उनले भने ।

तर, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्र्तगत शिक्षा विभागले देशभर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने सार्वजनिक सूचना जारी गरेको छ । जसका कारण हिमाली जिल्ला मुस्ताङका विद्यार्थीको शैक्षिक पठनपाठन प्रभावित भएको घरपझोङ गापाका शिक्षा शाखा अधिकृत हिमलाल शर्माले जानकारी दिए ।

Advertisement

उनले भने, ‘यता स्कुल खुलेको एक महिना हुन लाग्यो । तर, हामी कहाँ पाठ्यपुस्तक आउने छाँटकाँट छैन ।’ सरकारले हिमाल, पहाड र तराईका विद्यालयलाई समान रुपले शैक्षिक कार्ययोजना निर्माण गरेकाले यो समस्या देखिएको शिक्षा अधिकृत शर्माको भनाइ छ ।

मुस्ताङमा हिउँदयाममा दुई महिना प्रतिकुल मौसमका कारण यहाँका विद्यालय पुरै बन्द हुन्छ । तर, पहाडी र तराईमा भने पढाई भइरहन्छ । यसैका कारण मुस्ताङका विद्यालयले पुस अगावै शैक्षिक सत्र समापन गर्छन् भने फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्छन् । यसैले पनि शिक्षा विभागको शैक्षिक कार्ययोजनाले हिमाली जिल्लालाई समेट्न नसकेको हो ।

Advertisement

मन्त्रालय र विभागले जनक शिक्षा सामाग्रीलाई बैशाख महिनामा नयाँ शैक्षिक सत्र संञ्चालन गर्ने गरी पाठ्यपुस्तक निर्माण गर्ने भएकाले यसप्रकारको समस्या देखिएको जनहित मावि जोमसोमका प्रधानाध्यापक रामचन्द्र अधिकारीले उल्लेख गरे । ‘जनक शिक्षा सामग्री पोखरा शाखाले अरु क्षेत्रमा वैशाखमा मात्र नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पाठ्यपुस्तक नदिनु भन्ने विभागले निर्देशन जारी गरेको छ, हामीले सबै सरकारी तह र सबै निकायलाई समन्वय गरेका छौं,’ प्राचार्यले अधिकारीले भने, ‘केही पाठ्यपुस्तक आइसकेको र पाइन्छ कि भन्ने अपेक्षा गरेका छौं, यसैले सोही पुस्तककै पर्खाइमा पोखरामा बसेको छु ।’

नयाँ शैक्षिक सत्र अन्तर्गत कक्षा ५, ८ र १० को पाठ्यक्रम पूरै परिवर्तन भएको छ। केही पाठ्यक्रम छापिएका छन् भने केही छापिन बाँकी छन्। यसैका कारण मुस्ताङका ५,८ र १० कक्षाका विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको पढाइ अवरुद्ध भएको हो ।

यद्यपि अन्य कक्षाको नयाँ शैक्षिक सत्रको पढाइ पुरानै पाठ्यपुस्तक विद्यार्थीमा विद्यालय सञ्चित गरी राख्ने भएकाले अन्य कक्षाको पाठ्यपुस्तक नहुँदा पनि खासै समस्या नहुने जनहितका प्रधानाध्यापक अधिकारीले बताए । उनले नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक परिवर्तन भए मात्र समस्या आउने उल्लेख गरे ।

मुस्ताङको ५ स्थानीय तहका ३४ सामुदायिक विद्यालयको करिब ३ हजार ८७५ जना विद्यार्थीको समयमै पाठ्यपुस्तक उपलब्ध नहुँदा समस्या परेको हो । मुस्ताङको ४ स्थानीय तहमा एक निजीसहित ७ वटा माध्यमिक विद्यालय तहका विद्यालय छन् ।
हिउँदयामा अत्यधिक चिसो र हिमपातका कारण उपल्लो मुस्ताङका विद्यालय घुम्तीका लागि बेसी झर्छन् । मध्य मुस्ताङ र तल्लो मुस्ताङका विद्यालयहरु चिसोका कारण विद्यालय बन्द गरिन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया