भाषा सम्पादन तालिम सकियो

समाधान संवाददाता २०७९ फागुन २९ गते ११:०८

पोखरा ।
पोखराका क्रियाशील पत्रकारका लागि आयोजित ३ दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले तालिम आयोजना गरेको हो । तालिममा सहभागी ५५ जना पत्रकारलाई भाषाविज्ञ शरच्चन्द्र वस्ती र पत्रकार विमल आचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भाषालाई सतहीमा बुझ्न नहुने भन्दै सिकाइ भन्ने कुरा कहिल्यै नसकिने बताए । उनले भाषालाई समुन्नत बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए ।

पत्रकारले सिकेको भाषाले सिंगो पोखराले प्रतिविम्बित गर्ने भन्दै आगामी दिनमा पत्रकारले प्रयोग गर्ने भाषा थप व्यावहारिक बन्ने विश्वास उनले व्यक्त गरे । मेयर आचार्यले पत्रकार महासंघसँग आगामी दिनमा पनि सहकार्य गरेरअघि बढ्ने प्रतिबद्धता जनाए ।

Advertisement

महासंघ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, प्रमुख प्रशिक्षक शरच्चन्द्र वस्ती, प्रशिक्षक विमल आचार्य, प्रशिक्षार्थी कमल पौडेल अथक, खीमाकुमारी गुरुङ, कार्यक्रम संयोजक रामप्रसाद तिमेल्सिना, उपाध्यक्ष जमुना शर्मा वर्षा, सहसचिव श्रीराम सिग्देल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया