भजन महोत्सवमा रमाउँदै पोखरेली

समाधान संवाददाता २०७९ फागुन २९ गते १४:०५

पोखरा ।


थरीथरी मेला महोत्सव भइरहने पोखरा प्रदर्शनी केन्द्रमा अहिले अलि वेग्लै प्रकारको महोत्सव चलिरहेको छ । त्यो हो भजन चुड्का महोत्सव प्राचीन संस्कृति र परम्परासँग गाँसिएको लोकभजन जगेनार्थ महोत्सव आयोजना गरिएको हो ।

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो । प्रतियोगितामा देशभरबाट ३२ भजन समूहले सहभागिता जनाएको प्रतिष्ठानका सदस्य सचिव डा तुलसीराम खनालले बताए । भजन महोत्सवसँगै बृहत् ज्ञान महायज्ञको शुभारम्भ बिहीबार गरिए पनि प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

Advertisement

चैत २ गतेसम्म चल्ने ज्ञान महायज्ञ एवं भजन महोत्सवमा आध्यात्मिक गुरु गुरु चैतन्य कृष्णले भागवत् वाचन गरिरहेका छन् । महोत्सवबाट संकलित रकम प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनमा निर्माण खर्च गरिने जनाइएको छ । महोत्सवमा १ करोड आम्दानी र ३५ लाख ४४ हजार खर्च हुने आयोजकको अनुमान छ ।

गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभियनमा

Advertisement

लोपोन्मुख लोकभजनको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सदस्य सचिव डा खनालले बताए । प्रतिष्ठानका अध्यक्ष प्रजापति पराजुलीले धार्मिक गीतका रुपमा प्रचलित भजन लोप हुन नदिन प्रतिष्ठानले महोत्सव, प्रतियोगितालगायत संरक्षणका काम गर्दै आएको हो ।

नेपाली भजन संस्कृतिमा राष्ट्रव्यापी रुपमा नयाँ जागरण ल्याउन आफूहरु लागिपरेको उनको भनाइ छ । ‘महोत्सवले लोकभजनको उत्थान र जगेर्नामा टेवा पुग्छ, नयाँ पुस्ताले भजनबारे बुझ्ने मौका पाउँछन्’, अध्यक्ष पराजुलीले भने । कुनै ताका मठ, मन्दिर, पूजापाठ र कर्मकाण्डमा खुम्चिएको लोकभजनले पछिल्लो मेला, महोत्सवमा ठाउँ लिन थालेको छ ।

प्रतिष्ठानले यसअघि पनि पोखरामै भजन महोत्सव गर्दै आएको थियो । बागलुङ लगायत जिल्लामा पनि भजन महोत्सव हुने गरेका छन् । समाज आधुनिक बन्दै जाँदा भजन जस्ता परम्परागत गीत, कला र संस्कृति हराउने चिन्ताबीच संरक्षण अभियान अघि बढेको हो ।

भजनले मानिसलाई आत्मिक शान्ति दिने र सत्मार्गमा लाग्न प्रेरित गर्ने बागलुङस्थित जैमिनी संकीर्तन समूहका अध्यक्ष टेकबहादुर क्षत्रीले बताए । इश्वरीय कथा, गाथा, भगवानको गुणगान र वर्णन गरेर भजन गाउने गरिएको उनको भनाइ छ ।

उक्त समूह पनि यसअघि विभिन्न ठाउँमा हुने भजन प्रतियोगितामा भाग लिएर पुरस्कृत भएको छ । लोकभजनमा बढीजसो ईश्वरीय महिमा र पौराणिक कथा अभिव्यक्त गर्ने गरिन्छ । प्रतियोगितामा सहभागी हुने भजन समूहले गायनसँगै भगवान् शिव, कृष्ण चरित्रदेखि रामायण, महाभारत आदिका कथाभावलाई अभियनमा उतार्ने गरेका छन् ।

धर्म, सभ्यता र संस्कृतिसँगै सामाजिक विषयलाई समेत उठान गरेर भजन गाउने गरिएको कलाकार बताउँछन् । मौलिक संस्कृतिको ज्ञान र शिल्प नयाँ पुस्तामाझ पुर्‍याउन पनि धार्मिक मेला, महोत्सव र प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५१ हजार, द्वितीयलाई ३१ हजार, तृतीयलाई २१ हजार र सान्त्वनालाई ११ हजार पुरस्कार राखिएको छ। उत्कृष्ट झाँकी, वेशभूषा, नाच आदिलाई पनि नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया