योगेन्द्रको उपचारमा लापरवाही गर्ने डक्टर निलम्वित

समाधान संवाददाता २०७९ फागुन २९ गते १६:२२

पोखरा ।
मेडिसिटी अस्पतालका दुई जना चिकित्सक निलम्बनमा परेका छन् । योगेन्द्रबहादृर बस्नेतको उपचारको क्रममा व्यवसायीक आचारण पुरा नगरेका भन्दै उनीहरुलाई नेपाल मेडिकल काउन्सिलले कारबाही गरेको हो ।

पेट तथा पाचन प्रणाली (ग्याष्ट्रोइन्टेस्टाइन जिआई) सर्जन डा सुनिलकुमार शर्मा र उनी अन्तर्गत कार्यरत डा राजिव मिश्रलाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो । डा शर्मा र डा मिश्रले बस्नेतको गत जेठ २२ गते पित्तथैलीको अप्रेसन गरेका थिए । बस्नेतको गत जेठ २५ गते मृत्यु भएको थियो ।

शल्यक्रियापछि हुन सक्ने जटिलता र निगरानीका विषयमा वेवास्ता गरेको देखिएकाले आगामी दिनमा त्यसतर्फ ध्यान दिन सचेत गराउँदै सात दिनका लागि निलम्बन गर्ने निर्णय गरिएको काउनिसलले जानकारी दिएको छ ।

Advertisement

बस्नेतको मृत्युपछि उनका छोरा समिरले उपचारका क्रममा लापरबाही भएको भन्दै दोषिलाई कारबाहीको माग सहित असार २८ गते काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीपछि काउन्सिलले गरेको छानबिनका क्रममा उपचारका क्रममा चिकित्सकहरुले व्यवसायीक आचारण पालना नगरेको फेला परेको हो।

जेठ १७ गते नियमित स्वास्थ्य परीक्षणका लागि मेडिसिटी अस्पताल पुगेका योगेन्द्रको चिकित्सकले पित्त थैलीको अपरेसन गर्नुपर्ने बताएपछि जेठ २२ मा शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि बिरामीलाई पोस्ट अपरेटिभ वार्ड मा सारिएको थियो ।

Advertisement

बिरामी बस्नेतले अप्रेसन गरेको भागमा धेरै दुखेको बताएपछि स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर फर्केका थिए । त्यतिबेला उनको रक्तचाप सामान्य थियो । जाँच गरेको केही बेरमा शौचालय गएका उनी त्यहिँ लडेका थिए । बस्नेतको अवस्था झनै जटिल भयो ।

राति ३ बजे उनी अचेत भए । त्यसपछि मेडिकल अफिसरले कृत्रिम श्वास दिएर आइसियुमा राखे । भिडियो एक्सरे गरेर हेर्दा आन्तरिक रक्तश्राव देखियो । चिकित्सकहरुले पुन अप्रेसन गर्नुपर्ने बताए । फेरि अप्रेसन गर्दा पनि आन्तरिक रक्तश्राव नरोकिएको र धेरैजसो अंगहरुले काम गर्न छाडेकाले अब आश कम भएको जानकारी चिकित्सकले बस्नेतको परिवारलाई गराए । भेन्टिलेटरमा राखिएकै बेलामा जेठ २५ गते बस्नेतको मृत्यु भयो ।

बिरामीको स्वास्थ्य अवस्था जटिल भए पनि चिकित्सकले गम्भीर भएर ध्यान नदिएको पाइएको काउन्सिलको ठहर छ ।
जेठ २४ गते राति १० बजे डा। राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी डा। शर्मालाई गराएका थिए ।

तर त्यतिबेला बिरामीको अवस्था जटिल भइसकेको थियो । आफ्नो नेतृत्वमा रहेको बिरामीमा जटिलता उत्पन्न हुँदा पनि समयमै उपचार गर्नमा ढिलाइ गरेका डा। शर्मालाई निलम्बन गरिएको काउन्सिलको ठहर छ । काउन्सिलले पत्र काटेर पठाएको दिनबाट लागु हुने गरी चैत ५ देखि ११ गते सम्म निलम्बन हुनेछन् ।

तपाईको प्रतिक्रिया