पोखराका क्याम्पसमा कतै राजीनामा, कतै कलह

सञ्जय रानाभाट २०७९ फागुन ३० गते १०:२१

पोखरा ।
त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै जाँदा पोखराका क्याम्पसहरूमा विवादै विवाद देखिएको छ । अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेन । उम्मेदवारी दर्ता भएका क्याम्पसमा पनि अस्वस्थ्य र अराजनीतिक वातावरण देखिएको छ ।

देशकै सबैभन्दा धेरै मतदाता रहेको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची थियो । तर, निर्वाचन कार्यालयमा लागेको ताला नखुल्दा उम्मेदवारी दर्ता हुन सकेन । त्यसपछि उच्च अदालत पोखराले फागुन २८ गते तत्कलाका लागि निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएपछि पिएनमा निर्वाचन गतिविधि शून्यजस्तै भएको छ । फागुन २६ गते एक समूहले आफूहरुले राखेको नाम नपाएको भन्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

अदालतबाट जारी आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि चैत २ गते पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी गराउन र सोसम्मका लागि निर्वाचनसम्बन्धी काम, कारबाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ ।’

Advertisement

पोखरा वन विज्ञान क्याम्पस, संस्कृत क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पोखरा नसिङ क्याम्समा भने उम्मेदवारी मनोनयन गरी अगाडि बढे पनि विद्यार्थी संगठनको झगडा छताछुल्ल देखिन्छ ।

नसिङ क्याम्पसकी निर्वाचन समिति प्रमुख शारदा शर्माले कलेजमा सोमबार अन्तिम नामावली प्रकाशन गरिएको बताइन् । ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत ५ गते निर्वाचन हुन्छ,’ उनले भनिन् । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएको छ । तर, केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् । नेविसंघ क्याम्पस कमिटीका केही पदाधिकारीले जिल्ला कमिटीले हस्तक्षेप गरेको भन्दै राजीनामा दिएका छन् । केहीले नाम फिर्ता लिएका छन् ।

Advertisement

जनप्रिय बहुमुखी क्याम्पस (जिएमसी) मा प्रक्रिया अगाडि बढेको छैन । विद्यार्थी संगठनबीच भर्नाका विषयमा भएको विवादले निर्वाचन प्रक्रिया रोकिएको हो ।

नेविसंघका ३ उपसभापतिसहित १४ जनाको राजीनामा
नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाइ समितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको समयमा क्याम्पसको इकाइ बैठकबिना बाहिरी व्यक्तिको अनाधिकृत रुपमा प्रवेश भएको भन्दै क्याम्पस इकाइ कमिटी उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई र सचिन अर्यालसहित १४ जनाले राजीनामा गरेका हुन् ।

सचिव दिवाकर कर्ण, सहसचिव केशवप्रसाद सापकोटा, कोषाध्यक्ष कुसुम गुरुङ, सदस्यहरु शिव पोखरेल, सुनील भट्टराई, अभिषेक अर्याल, तरुण घिमिरे, रुपेश घिमिरे, विवेक कँडेल, संस्कार थापा र नेशिल कोइरालाले पनि राजीनामा दिएका छन् । ‘क्याम्पसका आधिकारिक इकाइ पदाधिकारी र विद्यार्थीमाथि हस्तक्षेप गर्ने यस किसिमका तुच्छ गतिविधिको घोर विरोध गर्दै इकाइ पदाधिकारीहरु सामूहिक राजीनामा घोषणा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पिएनमा निर्वाचन समितिकै राजीनामा
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनका लागि बनेको समितिले राजीनामा दिएको छ । निर्वाचन अधिकृत विकास केसी नेतृत्वको टोलीले नै राजीनामा दिएको हो । समितिले स्ववियु निर्वाचन कार्यतालिका प्रकाशन गरी काम गरिरहेका बेला क्याम्पसको शैक्षिक प्रशासनबाट मतदाता विद्यार्थीको विवरण बाहिर गएको भन्दै विद्यार्थी आन्दोलित छन् ।

विद्यार्थीले निर्वाचन समितिलाई तथ्यांक लिक गरेको आरोप लगाएपछि समितिका सदस्यहरुले राजीनामा बुझाएको सदस्य शिव गुरुङले बताए । ‘केही विद्यार्थी संघ, संगठन, समूहबाट निर्वाचन समितिलाई कपोकल्पित रूपमा विवरण चुहावट गराएको आरोप लगाई समितिका सम्पूर्ण सदस्यको निष्ठामाथि प्रश्न उठाउने र निर्वाचन समितिलाई निशाना गरी भौतिक आक्रमण, तोडफोडसमेत भई निर्वाचनको वातावरण असहज बन्न पुगेकाले राजीनामा बुझाएका छौं,’ उनले भने ।

राजीनामा पत्रमा समितिले कहीं, कतैबाट सहयोग एवं संरक्षणसमेत पाउन नसकेको जिकिर गरिएको छ । निष्ठापूर्वक नियमानुसार काम गर्दागर्दै निर्वाचन कार्यालयमा तालाबन्दी भई निर्वाचन समितिले कार्यालयमा गएर काम गर्ने अवस्था नबनेको राजीनामामा उल्लेख छ । असहज परिस्थितिमा तोकिएको मिति र समयमा निर्वाचन गर्ने अवस्था नदेखिएकाले जिम्मेवारीबाट मुक्त भई मार्ग प्रशस्त गरिएको राजीनामा पत्रमा उल्लेख छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया