ग्रासरुट अभियानमा प्रेस चौतारी

पोखरा ।
नेकपा (एमाले)को मिसन ग्रास रुट अभियान २०७९ अन्तर्गत प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको तेस्रो पूर्ण बैठक भएको छ । बैठकले कमिटी विस्तारका साथै पदाधिकारी सहितको सचिवालय गठन गरेको अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले विभिन्न विभाग गठनसमेत गरेको छ । कमिटी उपाध्यक्ष उमाकान्त शर्माको संयोजकत्वमा स्कुल विभाग, महासचिव आश गुरुङको संयोजकत्वमा संगठन विभाग बनेका छन् ।
सचिव कमल सुवेदीको संयोजकत्वमा संघ, संस्था समन्वय विभाग, कोषाध्यक्ष भविश्वर पाण्डेको संयोजकत्वमा आर्थिक विभाग निर्माण भएका छन् । नेकपा (एमाले) उपमहासचिव तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको मिसन अनुसार चौतारीले प्रचारप्रसारको काम गर्नुपर्ने बताए । उनले समाजवादको आधार तयार गर्न सञ्चारको तर्फबाट योगदान गर्न सुझाव दिए ।
‘पार्टीले प्रेस चौतारीलाई यथोचित महत्व दिएर पार्टीको प्रचारको कामलाई व्यवस्थित गर्ने योजनाअघि सारेको छ,’ प्रेस चौतारी नेपालका इन्चार्जसमेत रहेका गुरुङले भने, ‘पार्टीका प्रचारप्रसारको कामसँग जोडिएको जनसंगठनलाई १ नम्बरको जनसंगठन बनाउने हिसाबले कामअघि बढेको छ ।’
उनले संगठनलाई चुस्त, दुरुस्त र कामलाई व्यवस्थित बनाउन सुझाव दिए । उपमहासचिव गुरुङले नेतृत्व सबैभन्दा योग्य र पूर्ण रुपमा व्यवसायिक बनेमात्र प्रेस चौतारीप्रति आकर्षण बढ्ने तर्क गरे । उनले कार्यालयलाई व्यवस्थित गर्नुका साथै वार्षिक कार्ययोजना अनुसार बजेट व्यवस्थापन गर्न आग्रह गरे ।
उनले पार्टीको मिसन ग्रासरुट अभियानपश्चात प्रेस चौतारीका नेता तथा कार्यकर्ताको व्यवसायिक दक्षता र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण आयोजना हुने बताए । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपसचिव तथा प्रचार विभागका प्रमुख रश्मि आचार्यले पहलकदमी, प्रतिस्पर्धामा श्रेष्ठता र परिवर्तनशीलता जनताको वहुदलीय जनवादको विशेषता भएको बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य, प्रेस चौतारी नेपाल गण्डकी इन्चार्ज रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, गण्डकी प्रदेश समिति अध्यक्ष ईन्द्रप्रसाद पौडेल, उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव आश गुरुङ लगायतले वैचारिक प्रशिक्षण र संगठन सुदृढीकरण गरी प्रेस चौतारीलाई अब्बल संगठन बनाइने बताए ।
तपाईको प्रतिक्रिया