घट्टेखोला–ल्वाङ नमुना सडक चाँडै

पोखरा ।
घट्टेखोला, धम्पुस, देउराली, खानीगाँउ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङकन (आइइई) गर्न टोली धम्पुस पुगेको छ ।
आइइई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोलीले आइतबार फिल्ड भिजिटसहित नापजाँच गरेको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ७ (धम्पुस) का वडाध्यक्ष बैकुण्ठ भण्डारीले बताए ।
गण्डकी प्रदेशको नमुना सडक अन्तर्गत यो सडक निर्माणमा सबै पक्ष सहयोग गर्न तयार रहेको उनले जनाए । ३ वर्षअघि १३ किलोमिटर सडक ५८ करोड लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेन्डर प्रक्रियामा रोकिएको थियो । अहिले उक्त योजना केही संशोधनसहित फेरि सुरु हुन लागेको भण्डारीले बताए ।
परियोजनाअघि बढाउन स्थानीय रुपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले सडक क्षेत्रमा एक्याप र वन कार्यालयको क्षेत्राधिकारसमेत पर्ने भएकाले त्यसका लागि आवश्यक समन्वय गर्दै आएको जनाए ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुस अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा आइतबार धम्पुसमा भएको छलफलमा सबै पक्षबाट उक्त योजनालाई जतिसक्दो छिटो, छरितो ढंगबाट सम्पन्न गर्ने सहमति जुटेको छ । सडक क्षेत्रको दायाँबायाँ पर्ने स्थानीय उक्त परियोजनाको लागि आवश्यक जग्गा दिनसमेत राजी भएको वडाध्यक्ष भण्डारीले सुनाए ।
३ वर्षअघि प्रदेश सांसद रामजीप्रसाद बराल जीवनको पहलमा उक्त योजना परे पनि समयमै समन्वयन हुन नसक्दा हाल केही संशोधनसहित नयाँ योजना थालिएको हो । समितिका अध्यक्ष दल्बहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकाले योजनामा कुनै बाधा आउन नदिने प्रतिवद्धता गरे ।
प्रदेशका पूर्व अर्थ मन्त्रीसमेत रहेका नेता जीवन आइइई गर्न आएको टोलीसँगै आइतबार फिल्डमा पुगेका थिए । परियोजना सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउँदै उनले सम्बन्धित कार्यालयका प्रतिनिधिलाई फिल्डबाटै फोन गर्दै जिम्मेवार वहन गर्न आग्रह गरे । प्रस्तावित आयोजनाले ग्रामीण सडक सुधार गर्दै वर्षैभरि चल्ने गरी गुणस्तर वृद्धि गर्ने अपेक्षा छ । जसले कृषि, पर्यटन क्षेत्रलाई टेवा पुर्याउँदै ग्रामीण जनताको बजारसँगको पहुँच विस्तार गर्ने जनाइएको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना संयोजक माधव भट्टराईले परियोजनाको काम विस्तारै अघि बढेको बताए । आइइई रिपोर्ट निर्माणको चरणमा रहेको उनले जनाए । सन् २०२३ मा छनोट भएका २४ वटा योजनामध्ये उक्त योजना पनि हो ।
परियोजना यो वर्ष टेन्डर भई एसियन डेभलपमेन्ट बैंक (एडिबी) सँग सम्झौता हुने प्रक्रियामा रहेको संयोजक भट्टराईले बताए ।
प्रोजेक्ट बैंक अन्तर्गत निर्माण हुने उक्त परियोजना सर्भे र त्यसको रिपोर्ट बनाउँदा केही समय ढिला भएको उनले जनाए । सिभिल इनफम्र्याटिक्स इन सोलुसनकी वातावरणविद मुन थापाले उक्त परियोजनाको प्रारम्भिक चरणमा १९ किलोमिटरको सर्भे गरे पनि करिब १२ किलोमिटर पक्की सडक निर्माण गरिने सुनाइन् ।
तपाईको प्रतिक्रिया