संघले प्रदेशलाई कमजोर तुल्याउन खोज्योः मुख्यमन्त्री अधिकारी

'केन्द्रीकृत मानसिकता प्रदेशको विकासका लागि बाधक भइरहेको छ'

समाधान संवाददाता २०७९ फागुन ३० गते १७:५०


नारायणप्रसाद न्यौपाने
काठमाडौं ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन् ।

Advertisement


प्रदेशको अग्रसरतामा निर्माणका लागि बोलपत्र आह्वान भई अघि बढिरहेका हजारौं योजना संघीय सरकारले आफ्नो मातहत लगेर प्रदेशलाई कमजोर तुल्याउन खोजेको आरोप लगाउँदै उनले स्रोतको सुनिश्चितता नभई आयोजना अघि बढाउँदा समयमा प्रतिफल प्राप्त हुन कठिनाइ हुने धारणा राखे ।


त्यसरी योजना अघि बढाउँदा प्रदेशको स्वअधिकार नहुने मात्र नभई केन्द्रको छायामा मात्र सीमित हुन पुगेको उनको भनाइ छ । ‘प्रदेश अहिले नाम मात्रको सरकारका रूपमा छ, ऊसँग न प्रहरी छ, न कानुन न त कर्मचारी नै,’ मुख्यमन्त्री अधिकारीले भने ।
पोखरामा केही समयअघि भएको हवाईजहाज दुर्घटनाको उद्धारका लागि तत्काल परिचालन गर्न कर्मचारी र जनशक्ति नभएको घटना उनले सुनाए । ‘प्रदेशका लागि चाहिने कानुनी व्यवस्था, जनशक्ति र भौतिक संरचनाकै अभाव छ,’ उनले भने ।


उनले संघीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे । मुख्यमन्त्री अधिकारीले भने, ‘संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त हो । लोकतन्त्रको जेठासी र क्रान्तिकारी हुँ भन्नेबाटै पनि संविधान उल्लंघन भएको छ ।’


दलको नीति, सिद्धान्त, विचार, पहिचान र चुनाव चिह्नसमेतलाई तिलाञ्जलि दिएर चुनावमा होमिनु भनेको अवसरवादलाई व्यापक र व्याप्त बनाउने कार्य भएको जनाउँदै मुख्यमन्त्री अधिकारीले यस्ता नकारात्मक पक्षलाई तुरून्त सच्याउन आवश्यक रहेको बताए ।

Advertisement


नेकपा (एमाले) स्थायी कमिटी सदस्य अधिकारीले प्रदेशको औचित्यमाथि गम्भीर प्रश्न उठेका बेला तीन–तीन महिनामा सरकार फेर्दा यसको सान्दर्भिकतामाथि प्रश्न चिह्न खडा हुने विचार राखे ।

‘यो दुर्भाग्यपूर्ण विषय हो,’ उनले भने, ‘प्रदेश मन्त्रालयको संख्या घटाएर, मितव्ययी बनाएर तथा जनताको नजिकैको सरकारको अनुभूति दिलाएर यसको जवाफ दिन हामी खोजिरहेका छौं ।’


देशको स्वाधीनता र लोकतन्त्रमाथि प्रश्न चिह्न खडा गर्ने काम नेपाल र नेपालीलाई सह्य नहुने बताउँदै नेता अधिकारीले लामो संघर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य तथा राजनीतिक दलका नेता एवं कार्यकर्तामा सुझबुझ र धैर्य आवश्यक रहेको बताए ।


‘राजनीतिक प्रभावभन्दा माथि उठेर गण्डकी विश्वविद्यालय, त्यसको नीतिसँग सम्बन्धित प्रशिक्षण प्रतिष्ठान, जनशक्ति र आवश्यकता अनुसारको संरचना, प्रादेशिक अस्पताल निर्माणजस्ता प्रदेशका उपलब्धि र धेरै राम्रा पक्ष हुन्,’ मुख्यमन्त्री अधिकारीले भने ।


प्रदेशले केन्द्रीय सरकारबाट खास गरी प्रहरी समायोजन तथा संघीय निजामती ऐन र साझा अधिकारसम्बन्धी ऐन छिटो आओस् भनेर जोडबल गरिरहेको बताउँदै पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले वित्तीय अधिकार लगायत विषयमा छिटो कानुन तर्जुमा नहुँदा ठूलो चुनौती खडा भइरहेको धारणा राखे ।


राज्य पुनःसंरचना र पूर्वाधार बनाउन पञ्चवर्षीय योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी मुख्यमन्त्री अधिकारीले दिए । उनले विकास निर्माणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच दोहोरोपना नपरोस् भनी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरिसकिएको पनि सुनाए । रासस

तपाईको प्रतिक्रिया