पर्यटन प्रवद्र्धनार्थ उज्यालो बन्दीपुर

तनहुँ ।
तनहुँको बन्दीपुरमा पर्यटन प्रवद्र्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।
ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो ।
उनले भने, ‘यस वर्ष पर्यटन शाखामार्फत २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।’
बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्युआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ ।
पर्यटकीय क्षेत्र बन्दीपुर ३ रामकोटमा यसै वर्ष ढुंगा बिछ्याउन थालिएको छ । उक्त कार्यका लागि ८ लाख विनियोजन गरिएको छ । त्यसैगरी आगामी वर्ष बन्दीपुर ५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसा लगायत स्थानमा ढुंगा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया