द्वन्द्वमात्रै निम्त्याउने स्ववियुको के काम ?

अरु बेला विद्यार्थीको हकहितमा चुइँक्क नगरेका संगठनहरु निर्वाचनका बेला सल्बलाएका मात्रै छैनन्, उनीहरुका हर्कतले शैक्षिक वातावरण अशान्त बनेको छ

रिखिराम जिसी २०७९ चैत १ गते १०:१५

रिखिराम जिसी, पोखरा ।
पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस मुख्य प्रवेशद्वार तालाबन्दी छ । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको निर्देशिका र परिचयपत्रको विषयमा आपत्ति जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले फागुन २८ गते लगाएको ताला अझै खोलिएको छैन । त्यही कारण ५ गतेको स्ववियु निर्वाचन त अनिश्चित भएको छ नै पठनपाठनसमेत प्रभावित भएको छ ।

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) प्रशासनमा झण्डा टाँसेर ताला लगाएको छ । नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापति सहितका कार्यकर्ताले मंगलबार ताला लगाएका हुन् ।

नेविसंघ क्याम्पस इकाई कमिटीबाट राजीनामा दिएका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले क्याम्पस गेटमा ताला लगाएका हुन् । त्यही कारण स्ववियु निर्वाचन र पठनपाठनको वातावरण बिथोलिएको छ ।

Advertisement

नेपालकै सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस (पिएन) मा पनि स्ववियु निर्वाचन अन्योल छ । उच्च अदालत पोखराले नै चैत २ गतेसम्म निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको छ । केही विद्यार्थी संगठनले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा लगाएको ताला खुलेको छैन । निर्वाचनको माहोल उत्कर्षमा पुग्दा शैक्षिक वातावरण शान्त छैन ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा उत्साह कम, विवाद धेरै देखिएको छ । लामो समयपछि हुने लागेको निर्वाचन पनि विवादरहित बन्न लागेको देखिँदैन । अरु बेला विद्यार्थीको हकहितमा चुइँक्क नगरेका संगठनहरु निर्वाचनका बेला सल्बलाएका मात्रै छैनन्, उनीहरुका हर्कतले शैक्षिक वातावरण अशान्त बनेको छ ।

Advertisement

अहिले विद्यार्थीहरुले पार्टीको राजनीति गर्ने होइन । पार्टीलाई चिन्ने हो, पार्टीको राजनीति बुझ्ने हो: गेहेन्द्रेश्वर कोइराला, पूर्वप्रमुख, पिएन क्याम्पस

पोखरामा स्ववियु निर्वाचन हुने भनिएका सबै क्याम्पसमा तालाबन्दीदेखि विद्यार्थी संगठनहरुबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । कुनै पनि क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया ‘स्वच्छ’ हुन सकेको छैन । उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएका पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पोखरा नर्सिङ क्याम्पसमा पनि स्ववियु निर्वाचन हुने/नहुने अझै अन्योल छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा गएको १४ वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा विद्यार्थी संगठनले चुनाव माग्दै आएका थिए । जसै निर्वाचन आयो, अनुकुलका उम्मेदवार उठाउन नपाए निर्वाचन हुन नदिने गरी उपद्रव प्रदर्शन गरिरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी नेता तथा कार्यकर्ताको गतिविधि र क्याम्पसमा देखिएका घटनाक्रमले स्ववियुको औचित्य के ? भन्नेबारे प्रश्न उठ्न थालेको छ ।

विद्यार्थी हकहित लागि भनेको स्ववियुकै कारण शैक्षिक वातावरण खल्बलिएको विद्यार्थीहरु बताउँछन् । ‘बेलामा पढाइ भएन, जाँच भएन भनेर कहिल्यै बोलेको सुनिएन,’ विद्यार्थी पूजा भुसाल भन्छिन्, ‘अहिले चुनाव आयो, झनै हाम्रो पढाइ डिस्टर्ब गरिराछन्, संगठनका झगडाले गर्दा कलेज जानै डर हुन थाल्या छ ।’

अनेरास्ववियूका स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने विद्यार्थी हक हितका लागि, सुशासन, शिक्षाका लागि स्ववियु आवश्यक रहेको बताउँछन् । ‘सबै कुरा विश्वविद्यालय, क्याम्पसहरुले देखेका हुँदैनन्, उनीहरुलाई विद्यार्थीको तर्फबाट सजक गराउन, खबरदारी गर्न स्ववियु आवश्यक छ,’ न्यौपाने भन्छन् ।

विद्यार्थी संगठन गुणस्तरीय शिक्षाका लागि लाग्नुपर्नेमा सांगठनिक स्वार्थमा लागेको भने अनेरास्ववियू नेता न्यौपाने स्वीकार्छन् । ‘विद्यार्थी संगठनलाई जित्नै पर्छ भन्ने, नजित्ने अवस्थामा चुनाव हुन नदिने भावना र क्याम्पस प्रशासनको उदासीनताले गर्दा स्ववियु निर्वाचन केही बिथोलिन पुगेको हो,’ उनी भन्छन् ।

पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्दे्रश्वर कोइराला राजनीतिक दलको राजनीति गर्न क्याम्पसमा विद्यार्थी संगठन गर्न आवश्यक नरहेको बताउँछन् । ‘हाम्रो शिक्षालाई सबैभन्दा राम्रो बनाउनका निमित्त, वैज्ञानिक बनाउनका निमित्त, विद्यार्थीलाई समाजको अपरिहार्य आवश्यकता बनाउनका निम्ति ज्ञानको, चेतनाको अभिवृद्धि गर्न संगठन आवश्यक छ,’ उनी भन्छन्, ‘विद्यार्थीले आवाज उठाउनै पर्छ । तर, राजनीतिक दलको राजनीति गर्न क्याम्पसमा विद्यार्थी राजनीति गर्न आवश्यक छैन ।’

पञ्चायत कालमा जस्तो विद्यार्थीले राजनीति गर्न नहुने पूर्व क्याम्पस प्रमुख कोइरालाको धारणा छ । ‘पार्टीले राजनीति गर्न नपाउँदाखेरि विद्यार्थीमार्फत मुखर हुन्थ्यो । पञ्चायनकालमा विद्यार्थीमार्फत बाहिर आउँथ्यो । आज समाज नै ओपन भइसकेको हुनाले पार्टीहरुले आफ्नो कुरा गर्न समाज छ,’ उनी भन्छन्, ‘अहिले विद्यार्थीहरुले पार्टीको राजनीति गर्ने होइन ।

पार्टीलाई चिन्ने हो, पार्टीको राजनीति बुझ्ने हो ।’ विद्यार्थीले ज्ञान अभिवृद्धि गर्न, ज्ञान लिन, समाजलाई चिन्न निमित्त उनीहरुलाई पनि राजनीति जान्नुपर्ने भने कोइरालाको विचार छ । उनी भन्छन्, ‘तर, विद्यार्थीले के चाहिँ गर्ने होइन भन्दाखेरि पार्टीको राजनीति गर्ने होइन ।’

विद्यार्थीका समस्या समाधान तथा प्रतिनिधित्व गर्न स्ववियु आवश्यक रहेको पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइराला बताउँछन् । ‘विद्यार्थीहरुको माग के छ ?, उनीहरुको समस्या के छ ? भन्ने कुराको प्रतिनिधित्व गर्ने आधिकारिक निकाय त स्ववियु नै हो ।

कैयौं विकास निर्माणका कामहरु स्ववियुमार्फत नै हुने गरेको छ, पहल भइरहेको छ पहिले पनि,’ उनले भने, ‘विश्वविद्यालयले पनि चाहन्छ, क्याम्पसले पनि चाहन्छ, स्ववियु निर्वाचन होस् । उहाँहरुसँग क्याम्पसले सहकार्य गर्न पाओस् ।’

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया