तनहुँ १ बाट उपनिर्वाचन लड्न कांग्रेसमा टिकटको लबिइङ

पोखरा ।
गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति चुनिएका छन् । पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र खाली भएको छ । पौडेलले आफ्नो पार्टी नेपाली कांग्रेससँगको आवद्धता पनि त्यागिसकेका छन् ।
रिक्त भएको तनहुँ १ मा अब उपनिर्वाचन हुनेछ । उपनिर्वाचन कहिले हुन्छ ? टुंगो नभए पनि यो क्षेत्रमा चुनाव लड्नका टिकटका लागि लबिइङ सुरु भएको छ । कांग्रेसका नेताहरु सभापति शेरबहादुर देउवा निवास पुगेर टिकटका लागि लबिइङ गरिरहेका छन् ।
त्यसो त ८ दलको समर्थनमा गत फागुन १३ गते पौडेल राष्ट्रपतिको उम्मेदवार भएदेखि नै तनहुँ १ मा टिकट माग्ने क्रम सुरू भइसकेको हो । कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष दीपक भट्टराईले आइतबार सभापति देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने माग गरेका थिए ।
उनले आफूलाई सभापतिले उपचुनावको तयारीमा लाग्न भनिसकेको दाबीसमेत गरेका छन् । गत निर्वाचनमा टिकट नपाएपछि उनले बागी उम्मेदवारी घोषणासमेत गरेका थिए । तर, शीर्ष नेताले पार्टीको कोषाध्यक्ष र राष्ट्रियसभामा ल्याउने आश्वासन दिएपछि उनी रोकिएका थिए ।
कांग्रेसका पुराना नेता रामचन्द्र पोखरेल पनि उम्मेदवार बन्न इच्छुक देखिन्छन् । उनले फेसबुक स्टाटसमार्फत प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न चाहेको जनाएका छन् । उनले मंगलबारमात्रै सभापति देउवालाई भेटेका थिए ।
‘२०४६ मा बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनस्र्थापना भए पश्चात्देखि प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचन लड्ने मेरो संकल्प अहिले पनि छ । मलाई एक पल्ट प्रत्यक्ष निर्वाचन लडने अवसर दिइनुपर्छ भन्ने मेरो दावी छ । पार्टीको केन्द्रदेखि सबै तहसँग हात जोडेर विनम्र अनुरोध छ–मलाई न्याय गरिनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि सो क्षेत्रमा चुनाव लड्न इच्छुक देखिन्छन् । उनले उपनिर्वाचनमा आफूलाई टिकट दिनुपर्ने विषयमा सभापति देउवासँग निवासै पुगेर १५ फागुन मा कुराकानी गरेका थिए । यसअघिको निर्वाचनमा पनि भट्टराईको नाम पनि तनहुँ १ मा पार्टीले उम्मेदवारमा सिफारिस गरेको थियो ।
भेटपछि उनले पत्रकारसँग सभापतिले आफूलाई भेटमा ‘उपनिर्वाचन जितेर आउनुपर्छ है’ भनेको बताएका थिए । ध्रुव वाग्ले पनि तनहुँ १ मा आकांक्षी छन् । उनी २०७४ को प्रदेश सभा निर्वाचनमा तनहुँ १ ‘ख’ एमालेका नेता किरण गुरुङसँग पराजित भएका थिए ।
गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा परेका वाग्ले २०५४ मा व्यास नगरपालिकाको मेयर चुनिएका थिए । उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
राष्ट्रपति पौडेल तनहुँमा २०४८ देखि २०७९ चुनावसम्म भएका सबैजसो चुनावमा विजयी हुँदै आएका थिए । २०७४ को निर्वाचन भने एमालेका कृष्णकुमार श्रेष्ठले उनलाई पराजित गरेका थिए । पौडेल ०४८ को संसदीय निर्वाचनमा तनहुँ क्षेत्र १, ०५२ तथा ०५६ को निर्वाचनमा तनहुँ क्षेत्र २, २०६४ र ०७० संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट विजय हासिल गरेका थिए ।
गत मंसिरमा भएको निर्वाचनमा भने सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई पराजित गर्दै छैटौंपटक प्रतिनिधि सभा सदस्य बनेका थिए । पौडेलले २५ हजार ३ सय ६१ मत र रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए ।
तपाईको प्रतिक्रिया