बैंक, फाइनान्सले घटाए ब्याजदर

समाधान संवाददाता २०७९ चैत १ गते १०:५९

काठमाडौं ।
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।

चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब ४ प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनील केसीले जानकारी दिए । उनले संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको सुनाए । हाल बैंकहरूले कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलब ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलब ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरूले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।

Advertisement

यस्तैगरी, संस्थागततर्फ ९ प्रतिशत र ‘रेमिट्यान्स’ मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, विकास बैंकहरूको छाता संगठनका रूपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ ।

संघको निर्णय अनुसार विकास बैंकहरूले चैत महिनादेखि १ वर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै, १ वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको ।

Advertisement

हाल विकास बैंकहरूले १ वर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । ब्याजदर घटाएसँगै विकास बैंकहरूले चैतमा १ वर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा ९ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम ६ दशमलव ६० प्रतिशतदेखि ८ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्ने छन् ।

नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । संघले ३ महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ । फाइनान्स कम्पनीहरूले १ वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

तपाईको प्रतिक्रिया