कतै हिउँ, कतै असिनापानी

सुन्दरकुमार थकाली २०७९ चैत १ गते ११:१०

जोमसोम ।
मुस्ताङमा मंगलबार दिउँसोदेखि आंशिक वर्षा र हिमपात भएको छ । केही ठाउँमा वर्षासँगै असिनासमेत प¥यो । मुस्ताङमा एक साताअघि वर्षको पहिलो हिमपात भएको थियो । टुकुचेदेखि तलको क्षेत्रमा दिउँसोदेखि आशिंक हिमपात भएको थासाङ २ सौरुका बासिन्दा सोजन हिराचन बताउँछन् । हिउँ पर्ने र रोकिने क्रम जारी छ । मार्फामा भने वर्षासँगै आशिंक रुपमा असिना परेको शीतोष्ण बागवानी विकास अधिकृत पद्मनाथ आत्रेयले जानकारी दिए ।

उनले मुस्ताङमा वसन्त ऋतुको आगमनसँगै फलफूलमा फूल फूल्ने बेला असिना परको भन्दै चिन्ता जनाए । कागती, बदाम, ओखर र स्याउका रुखमा पालुवा पलाउने समय भएकाले असिना परेमा ठूलो क्षति हुन्छ । मुक्तिनाथ क्षेत्रमा पनि बाक्लो हिमपात भइरहेको स्थानीय पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । मुस्ताङको तल्लो क्षेत्रका उच्च लेकमा आशिंक हिउँ परेको छ । जोमसोम र कागबेनी क्षेत्रमा हिउँ नपरी हुलुका वर्षा भइरहेको स्थानीय अजित थकाली बताउँछन् ।

तल्लो मुस्ताङमा वर्षा र हिमपात भए पनि उपल्लो मुस्ताङमा हिमपात र वर्षा नभएको एक्याप लोमान्थाङका कर्मचारी राम गुरुङले जानकारी दिए । ‘दिउँसो हिउँ पर्ला जस्तो गरेको थियो तर उत्तरी हावाको प्रभावले पर्न सकेन,’ उनले भने । अक्सर हिमाली क्षेत्रमा पुस र माघ महिनामा हिमपात हुन्छ । यद्यपि यस वर्ष पुस र माघ सकिँदासमेत हिमपात भएको थिएन । तर, एक साताअघि मुस्ताङमा बेमौसमी हिमपात भयो ।

Advertisement

मुस्ताङमा अहिले पनि कतै हिमपात र कतै वर्षा जारी छ । जलवायु परिवर्तनका कारण पछिल्लो समय मुस्ताङमा असमान मौसम देखिन थालेको छ । उपल्लो मुस्ताङको उचाइमा हिमपात नहुनु र तल्लो क्षेत्रमा हिमपात हुन जलवायु परिवर्तन असर भएको विज्ञहरु बताउँछन् ।

ढिलै भए पनि मुस्ताङमा परेको वर्षा र हिमपातले यहाँका कृषकलाई भने राहत प्रदान गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए । उनले फलफूलमा फूल फुल्ने बेला असिना पर्दा भने हानि हुने सुनाए । बर्सेनि भदौ, असोजमा मुस्ताङमा स्याउ टिप्ने समय सुरु हुन्छ ।

Advertisement

कात्तिकपछि यहाँका स्याउ बगान रित्ता र उजाड हुन्छन् । पुस र माघ महिना स्याउ बगैचा व्यवस्थापन र अन्य अन्यबाली लगाउने सिजन हुन्छ । यो समयमा हिउँ पर्दा कृषकलाई फाइदा पुग्छ । हिउँद यामको हिउँले जमिनको भित्रीसम्म चीसो पुग्छ । जसका कारण बालीनाली फस्टाउने र उत्पादनसमेत बढ्ने हुन्छ । हिउँले बोट बिरुवामा लाग्ने रोग संक्रमणसमेत घटाउँछ । अनुकूल मौसममा हिउँ नपरे पनि बेमौसमी हिमपातले यहाँका कृषकलाई केही मात्रामा सान्त्वना दिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया