पोखरा–भद्रपुर उडान ४ दिनमै स्थगित

रिखिराम जिसी २०७९ चैत २ गते १०:१६

पोखरा ।
पूर्वको सीमा सहर भद्रपुरबाट पोखरासम्म फागुन २५ गते हवाई उडान सुरु भयो । झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरले त्यस दिन राति पहिलो भद्रपुर–पोखरा सीधा हवाई उडान गर्‍यो । ६ जना यात्रु लिएर भद्रपुरबाट पोखराका लागि पहिलो उडान गरेको बुद्ध एयरले अर्काे दिन (फागुन २६ गते) बिहानै पोखराबाट भद्रपुरको उडान गरेको थियो ।

सोही उडानबाट पोखरा महानगरपालिका मेयर धनराज आचार्यको नेतृत्वमा पर्यटन व्यवसायी, पत्रकार लगायत विभिन्न पर्यटन सम्बन्धी संस्थाबाट प्रतिनिधिहरू सहितको टोली झापा पुग्यो । तर, गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकास कसरी गर्न सकिन्छ ? भन्ने विषयमा अन्तक्र्रिया र छलफल गरेर फर्किएको ५ दिन नबित्दै पोखरा–भद्रपुर उडान स्थगित भएको छ ।

पोखराबाट झापा आउजाउ गर्न काठमाडौं हुँदै यात्रा गर्नुपर्ने बाध्यता हटाउन सुरु भएको पोखरा–भद्रपुर हवाई उडान ५ दिन नपुग्दै रोकिएको हो । भारतका दार्जिलिङ, सिक्किम, कोलकाता लगायत ठाउँ र भुटान तथा बंगलादेशका पर्यटकलाई भद्रपुरबाट सीधै पोखरा आउन सहज बनाउने उद्देश्यसहित सुरु उडान सेवा स्थगित भएको छ ।

Advertisement

केहि दिनपछि उडान फेरी सुरु गर्ने बुद्ध एयरकाे दावी

२८ गतेयता यो रुटमा उडान नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् । ‘उडान सुरु भएको २/३ दिन भएको थियो, एयरलाइन्सको केही आन्तरिक कारणले हो की यात्रुको चाप नबढेर हो,’ उनले भनिन्, ‘अहिले सेडुअल चाहिँ स्वीकृत गराइराखेको छ, दैनिक उडान तालिकाचाहिँ हिजोआज राखेको छैन ।’

Advertisement

२६ गतेयता भद्रपुर—पोखरा उडान नभएको प्रवक्ता रेग्मीको भनाइ छ । ‘रात्रिकालीन उडान हुन्छ भनेर राख्यो त्यसपछि उनीहरुले त्यहिँ हिसाबले यात्रु लक्ष्यअनुसार भएन कि के भयो, उडानचाहिँ भएको छैन,’ उनले भन्छिन्, ‘अस्ति(सोमबार) मौसमले भएन, हिजो (मंगलबार) र आज (बुधबार) पनि भएको छैन ।’

सेवा स्थगित भएसँगै पोखराका पर्यटक व्यवसायीहरू हवाई सेवा रोकिँदा पोखराको पर्यटनमा क्षति पुग्ने बताउँछन् । ‘महानगरको मेयरको यात्राबाट सुरु भएको उडान ५ औ दिनमै बन्द हुन्छ भने कस्तो पर्यटक राजधानी कल्पना गरेका छौं ? हामी पोखरेली व्यवसायीले ?,’ पर्यटन व्यवसायी गणेश थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोखराको गरिमामा आँच पुग्ने योजनाबिना उड्ने/उडाउने सबै रमितेले पोखराको पर्यटनमा पुर्‍याएको क्षति माफयोग्य छैन ।’

विदेश तथा देशका प्रमुख सहरलाई जोड्ने सम्भावना रहेको उक्त उडान सेवा रोकिन नहुने व्यवसायी थापा बताउँछन् । ‘भुटान, भारतको पश्चिम बंगाल लगायत नेपालका प्रमुख सहरका गरी करिब १० करोड जनसंख्यालाई पोखरासँग जोड्ने सम्भावना रहेको यो सेक्टरको उडान कुनै बहानामा रोकिनु हुँदैन,’ उनले भने ।

नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालय प्रमुख विक्रम गौतमले यात्रुको चापलाई हेरेर उडान सञ्चालन गर्ने गरी छलफल भइरहेको प्रतिक्रिया दिए । दैनिक गर्दा चाप कम भयो भन्ने कुरा आएको छ, उहाँहरु (बुद्ध एयर)ले हप्तामा २ वटा उडान गर्ने भन्नुभएको छ, हेरौं अब के हुन्छ,’ विमानस्थल प्रमुख गौतमले भने ।

बुद्ध एयरले पोखराबाट विहान सवा ६ बजे र भद्रपुरबाट बेलुकी सवा ६ बजेको उडान गर्दै आइरहेको थियो । तर, अहिलेभने दुवै उडान रोकिएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले २/३ हप्तापछि पुनः पोखरा–भद्रपुर उडान सुरु गर्ने बताए । ‘मार्केटिङ पनि गर्नुपर्ने भो, हाम्रो नयाँ जहाज पनि आउँदैछ । २/३ हप्ता लाग्ला त्यसपछि सुरु गर्ने हो,’ बरालले भने, ‘उक्त समयपछि दैनिक नै सुचारु गर्ने तयारी गरेका छौं ।’

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया