‘सचेतना बढे उपभोक्ता अधिकार निश्चित’
पोखरा ।
३७ औं विश्व उपभोक्ता अधिकार दिवस (१५ मार्च) को सन्दर्भमा पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशले बुधबार सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।
‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरण’ भन्ने नाराका साथ भएको कार्यक्रममा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले उपभोक्ताको वस्तु वा सेवा खरिद तथा उपभोगको अधिकार सुनिश्चित गर्न बजार अनुगमन बढाउने जानकारी दिए । उपभोक्ताका अधिकार सुनिश्चित गर्न समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम बढाउने उनले उल्लेख गरे ।
‘हरेक वस्तुको उत्पादनदेखि उपभोक्तासम्म सबैले आआफ्नो दायित्व पूरा ग¥यो भने ठगिने अवस्था रहदैन,’ उनले भने, ‘आयातमुखी अर्थतन्त्रका कारण मिसावट तथा अखाद्य वस्तुको आयातलाई रोक्न कठिनाइ भएको छ ।’ उनले राज्यका निकाय सक्षम तथा आम नागरिक जागरुक नभएसम्म उपभोक्ता अधिकार सुनिश्चित हुन नसकिने तर्क गरे । सचिव ढुंगानाले प्रदेशका विषयगत मन्त्रीको संयोजकत्वको उपभोक्ता संरक्षण परिषद्ले नीति निर्माण गर्ने जानकारी दिए ।
निर्देशनालयका निर्देशक प्रविण ढकालले विद्यालय तथा समुदाय स्तरमा उपभोक्ता अधिकारको सचेतनामूलक कार्यक्रम बढाएर लैजाने योजना सुनाए । उनले सबै सरोकारवाला निकायले सामुहिक तथा सहकार्य गरेर लैजान सके उपभोक्ता अधिकार सुनिश्चित गर्न सकिने बताए ।
उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका ४ अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर उपभोक्ता दिवस मनाइने गरेको जानकारी दिए ।
४ अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप ८ अधिकारसहितको अनुबन्ध पारित भएको उल्लेख गर्दै उनले सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेको बताए । उनले संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको उल्लेख गरे ।
उपभोक्ताका ८ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार रहेको उनले जानकारी दिए । खाद्य गुणस्तर तथा प्रविधि कार्यालय कास्कीका प्रमुख शिवजी बरालले २०७९ साउनदेखि पोखरामा खाद्य प्रयोगशाला सुरुवात भएको बताए ।
कार्यक्रममा पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता तथा सूचना अधिकारी प्रदीपकुमार रेग्मी, शाखा अधिकृत नारायण ढकाल, उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति लगायतले उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम उपभोक्ता स्वयं जागरुक हुनुपर्ने चर्चा गरे ।
तपाईको प्रतिक्रिया