अपांगता भएका व्यक्तिलाई कुखुराका चल्ला

समाधान संवाददाता २०७९ चैत २ गते १०:५८

पोखरा ।
नेपाल अपांग सेवा संघ केन्द्रीय कार्यालय पोखराले बीऊ पुँजीको रुपमा अपांगता भएका व्यक्तिलाई कुखुराको चल्ला वितरण गरेको छ । लगण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा २१ जना अपांगता भएका व्यक्तिलाई चल्ला प्रदान गरेको संस्थाका अध्यक्ष बुद्धिबहादुर पन्तले जानकारी दिए । उनले अपांगता भएका व्यक्तिको सशक्तीकरण र सचेतना अभिबृद्धि अन्तर्गत दिगो जीविकोपार्जन सुधारको बीउ पुँजी वितरण गरेको बताए ।

Advertisement

गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापाले बिऊ पुँजीको रुपमा पाएको कुखुराको चल्लालाई हुर्काएर आय आर्जनको काम गर्न सुझाव दिइन् । उनले अपांगता भएका व्यक्तिलाई राज्यका निकायका अलवा सबै क्षेत्रको सहयोग आवश्यक भएको उल्लेख गरिन् ।

‘समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने नाराका साथ भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, शान्तिघाट आमा समूहका अध्यक्ष सरस्वती श्रेष्ठ, समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ, महिला अधिकार मञ्चका केन्द्रीय सदस्य दिलमाया गुरुङ, नेपाल अपांग समाज सेवा संघका केन्द्रीय सचिव जगदीश खनाल, कोषाध्यक्ष लक्ष्मी रत्न लगायतले अपांगता भएका व्यक्तिको जीविकोपार्जनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया