सम्पादकीय: एलपी ग्यास प्रयोग गर्न सिकाऊ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी एलपी ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भए । उनको अवस्था सुधारोन्मुख छ । सोही घटनामा उनकी आमा हरिकलाको मृत्यु भयो । चन्द्रलाई नै नेपालमा उपचार हुन नसकी एयर एम्बुलेन्सबाट मुम्बई लैजानु पर्यो । बेला बखत एलपी ग्यास विस्फोट र त्यसबाट क्षति भएका घटना आइरहन्छन् । यस्ता घटनाले नेपालीका भान्सा कति असुरक्षित रहेछन् भन्ने देखाउँछ ।
अचेल सहरमा मात्र होइन, गाउँ–गाउँका भन्सामा खाना पकाउने ग्यास पुगिसकेको छ । ग्यास प्रयोग गर्न नजान्नु पनि आफैंमा एउटा दुर्घटनाको कारक हो । यसलाई सुरक्षित तवरले कसरी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी एकदमै थोरैलाई मात्र छ । कमसल रेगुलेटर प्रयोगले ग्यास चुहिने डर हुन्छ । ग्यास लिक भएको थाहा पाए पनि कसरी सुरक्षित ग्यास बन्द गर्ने, आगो निभाउने भन्ने जानकारी स्थानीयमा छैन ।
गाउँमा त के सहरमै सचेतना पुगेको छैन तर हरेक भन्सामा ‘सिलिन्डर बम’ पुगेका छन् । बजारमा म्याद सकिएका सिलिन्डर पनि भेटिन्छन् । सिलिन्डरको अनुगमन हत्तपत्त हुँदैन । ग्यास सिलिन्डर विस्फोट हुँदा ज्यानै जाने जोखिम छ । त्यसले टोल, सहरमै ठूलो आगलागी हुन सक्छ । धेरै ठूलो जनधनको क्षति हुन्छ । तर अनुगमन गर्नुपर्ने सरकारी निकाय ठूला घटना नभएसम्म चूप बसेको देखिन्छ । यो चिन्ताको विषय हो ।
थोत्रा, म्याद सकिएका, फुटरिङ काटिएका सिलिन्डरलाई बजारबाट जफत गरी कारबाही गर्ने हो भने यस्ता घटना बारम्बार दोहोरिने थिएनन् । ग्यास लिक भएर आगो लागेमा त्यो आगो पानीले पनि निभ्दैन । त्यसलाई निभाउन विशेष तरिका चाहिन्छ । सिलिन्डरको म्याद हेर्ने तरिका सिकाउन जरुरी छ । कदाचित ग्यासमा आगो लागिहालेमा आत्तिनुको साटो ग्यास बन्द गर्ने र आगो निभाउने तरिका गाउँ, गाउँ, टोल, टोलसम्म सिकाउन जरुरी छ । यसले आर्थिक र मानवीय क्षति रोक्न सघाउँछ ।
तपाईको प्रतिक्रिया