बाबा साहित्य सम्मान घोषणा

समाधान संवाददाता २०७९ चैत २ गते १६:५९

पोखरा ।
बाबा साहित्य साधक सम्म्मान २०७८ तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र २०७९ को सम्मान कास्कीकी कवि लिली अधिकारीलाई प्रदान गरिने भएको छ । श्रेष्ठ र अधिकारी जनही नगद १० हजार ५ सय ५५, सम्मानपत्र र दोसल्लासहित सम्मानित हुँदै छन् ।

Advertisement

संघर्षमा कलमले हरेक वर्ष यो प्रदान गर्दै आएको छ । कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र २०६७ मा आयोजित बाबाको टिकटका एकल कवितावाचनबाट बचत रकमबाट स्थापना भएको बाबा साहित्य साधक सम्मान अक्षयकोषको ब्याजबाट यो सम्मान प्रदान गर्ने गरिएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा, लोकगायिका हरिदेवी कोइराला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई कृष्ण सारथिको अध्यक्षतामा भएको संस्थाको बैठकले अनुमोदन गरेको हो ।

गण्डकी प्रदेशका स्रष्टालाई प्रदान गरिने बाबा साहित्य साधक सम्मानबाट लमजुङका रुपिन्द्र प्रभावी, पोखराकी सरस्वती श्रेष्ठ ‘सरु’, बागलुङका सुमन श्रापित, पर्वतका शान्तिनारायण श्रेष्ठ, कास्कीका धनबहादुर गायक र कृष्णप्रसाद पौडेल सम्मानित भइसकेका छन् ।

पोखरा २४ कास्कीकोटका जन्मेकी लिली अधिकारीको ‘पहराको फूल’ कवितासंग्रह हालै प्रकाशन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिमा आबद्ध अधिकारी यसअघि संगम साहित्य सम्मान र सगरमाथा साधना सम्मानबाट सम्मानित भइसकेकी छन् ।

Advertisement

शुक्ला साहित्य संगम तनहुँका पूर्वअध्यक्ष श्रेष्ठको ‘उद्वेलित मनहरू’ गजलसंग्रह प्रकाशित छ । श्रेष्ठसँग शुक्ला साहित्य समिति तनहुँको वार्षिक प्रकाशन शुक्लाप्रवाह कथासंग्रह, कवितासङ्ग्रह, गजलसंग्रह, लघुकथासंग्रह मुक्तकसंग्रह लगायतका विशेषांक, जनसंस्कृति सामयिक संगालो, जनकवि गोकुल जोशी विशेषांक प्रगतिपथ सम्पादनको अनुभवसमेत छ ।

सप्तरंगी साहित्यिक प्रतिष्ठान पोखराबाट सम्मानित श्रेष्ठ प्रगतिशील लेखक संघ, गण्डकी साहित्य संगम, गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँ, सेतीकाली साहित्य संगम लगायतका संघ, संस्थामा आवद्ध वाङ्मयिक साधक हुन् ।

संघर्षमा कलमले पुतलीबजार ७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा स्थापित ऋषिराम स्मृति सम्मान र बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान हरेक वर्ष एकैसाथ अर्पण गर्दै आएको छ । यो वर्ष पनि दुवै सम्मान २०७९ चैत्र १८ गतेका दिन पोखरामा एक समारोहबीच अर्पण गरिने जनाइएको छ ।

कोरोना महामारीका कारण सम्मान अर्पण गर्ने वातावरण अनुकूल नहुँदा संघर्षमा कलमद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरी यस शृंखलालाई निरन्तरता दिइएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय अनलाइन कविता प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्द प्रथम भई ११ हजार १ सय ११, तेह्रथुमका बद्री श्रेष्ठ याक्चा द्वितीय भई ५ हजार ५ सय ५५, पर्वतका श्रीकृष्ण शर्मा र कास्कीकी दीक्षा अधिकारी तृतीय भई जनही ३ हजार ३ सय ३३ राशिसहितको पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने कविको पुरस्कार बैंक खातामा दाखिला भइसकेकामा तृतीय शर्मा र अधिकारीलाई सोही समारोहबीच पुरस्कार अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया