दुर्गा बरालको रथारोहण ४ गते

पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले कलाकार दुर्गा बराल वात्स्यायनको नागरिक अभिनन्दन तथा रथारोहण गर्ने भएका छन् । बराल ८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने दिन चैत ४ गते अभिनन्दन गर्न लागिएको हो ।
बरालले सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उहाँले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डोर्याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोयुसा अध्यक्ष उपेन्द्र पौडेलले जनाएका छन् ।
‘उहाँले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गर्नुभएको छैन, थुप्रै अनुजहरुलाई दीक्षित गर्नुभएको,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याउनुभएको छ । साथसाथै व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा विशिष्ट योगदान पु¥याउनुभएको छ ।’
पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई नै दिनुपर्ने पौडेलले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उहाँको कम्ती योगदान छैन ।’
राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किएका कलाकार बरालको अभिनन्दन गर्ने अवसर पोखरेली युवा सांस्कृतिक परिवार र यहाँका साहित्यक तथा वाङ्मयिक संस्थाहरुका निम्ति सुनौलो सौभाग्य भएको पौडेलको भनाइ छ ।
उनका अनुसार चैत ५ गते कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने रथारोहणमा सम्पूर्ण पोखरेलीजनलाई हार्दिक आमन्त्रण गरिएको छ ।
तपाईको प्रतिक्रिया