जनप्रिय क्याम्पसमा स्ववियु निर्वाचन गर्न माग

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन गर्न विद्यार्थीहरूले माग गरेका छन् । बुधबार विद्यार्थी संगठनहरूले संयुक्त वक्तव्य निकाल्दै स्ववियु निर्वाचन गर्न माग गरेका हुन् । निर्वाचन समितका संयोजक गोपाल बरालले विद्यार्थीहरुको पत्र प्राप्त भएको बताए ।
निर्वाचन समितिले मिति फागुन १६ गते प्रकाशित तालिका अवरुद्ध भएपछि फागुन २२ गते प्रकाशित सूचना अनुसार स्ववियु निर्वाचन अवरुद्ध भएको ती संगठनहरूले जनाएका छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) विप्लव, नेपाल समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी बहुमत )ले संयुक्त पत्र लेख्दै निर्वाचन गराउन माग गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिकामा समयमा निर्वाचन हुन नसके १ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था छ । समितिका संयोजक बरालले कलेज अब निर्देशिका अनुसार अगाडि बढ्ने बताए ।
‘फागुन ५ गते विद्यार्थीहरुले लगाएको तालाबन्दीपछि निर्वाचन अवरुद्ध भएको थियो । सर्वदलीय बैठकले पनि त्यो समाधान गर्न नसकेपछि त्रिविको कार्यतालिका अनुसार निर्वाचन भएन । अब विद्यार्थीहरु मिलेर आए निर्वाचन प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
जनप्रियका पूर्वस्ववियु सभापति आशिक गुरुङ कुनै अवरोध र बाधा व्यवधान नभएको हुँदा निर्वाचन हुनुपर्ने बताउँछन् । ‘अरु कलेजमा तालाबन्दी होला, आन्दोलन होला, हाम्रोमा त केही पनि भएको छैन, शान्त छ,’ उनले भने, ‘तर पनि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक नगर्नु अचम्म लाग्दो भएको छ ।’
नयाँ विद्यार्थी भर्नाको विषयलाई लिएर नेविसंघ, अखिल क्रान्तिकारी बहुमत र अनेरास्ववियुले लगाएको ताल निकै अघि नै खुलाइएको थियो । उनीहरुले निर्वाचनमा फागुन ४ गतेसम्म भर्ना भएकालार्ई मतदानमा भाग लिन दिनुपर्नेमा कलेजले फागुन ५ गतेसम्म भर्ना गरेकाले त्या निर्णय फिर्ता लिन माग गरेका थिए । विद्यार्थीहरुले ५ गते बिहानै तालाबन्दी गरेका थिए ।
‘मतदाता नामावलीमा एक रुपता भएन । तालाबन्दी भयो । फागुनको ४ गते विदा थियो । विदा भएपछि क्याम्पसले ५ गतेसम्म भर्ना यथावत गर्ने भन्ने थियो । त्यो भएको कारणले विद्यार्थी आउँछन् भने भर्ना लिने भन्ने भयो । सहमति लिएर सूचना निकालेर भर्ना गरियो । तर, पछि ५ गतेको भर्नालाई अन्तिम गर्नुपर्छ भन्यो,’ बरालले भने ।
पहिलोपटकको तालाबन्दी ८ गते खुल्यो । तर, फेरि ९ गते तालाबन्दी गरियो । यसपछि १८, १९ गतेसम्म संघ, समूह र संगठन दर्ता भएपछि दर्ता हुन सकेको थिएन । निर्वाचन समितिको २२ गते सर्वदलीय बैठकले यस्तै परिवेशमा निर्वाचन गर्न नसकिने निष्कर्ष निकाल्यो । तर, बुधबार विद्यार्थीहरुले सहमति जुटेको भन्दै निर्वाचन गर्न आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया