नागरिक समाजको भूमिकाबारे बिमर्श
पोखरा ।
शान्ति, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत शान्तिको लागि साझा अभियान (कोक्याप)ले बिहीबार गण्डकी प्रदेशको नागरिक स्थान, अवस्था, विश्लेषण तथा परामर्श कार्यक्रम गरेको छ ।
अभियानका अध्यक्ष पुष्प भुषालले आर्थिक समृद्धि र दिगो विकासका लागि नागरिक समाज आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चितका लागि सक्रियतापूर्वक लाग्नुपर्ने बताए । विगतमा राजनीतिक परिवर्तनको मुद्दामा साझा ढंगले लागे जस्तै आर्थिक मुद्दामा एकजुट भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य विजयकुमार प्रधानले नागरिक समाजको दायरालाई साँघुरो र भूमिकालाई संकुचित गरिएको आरोप लगाए । पछिल्लो समयमा सरकारले नागरिकको आवाज नसुनेको उल्लेख गर्दै उनले सामाजिक ऐन ल्याएर सामाजिक संघ संस्थालाई व्यवस्थित गर्न नसकेको बताए ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पछिल्लो समयमा मानव अधिकार रक्षकको अवस्था सन्तोषजनक नभएको उल्लेख गरे ।
‘लोकतन्त्रमा नागरिक स्थानलाई विशेष महत्व दिनुपर्छ,’ उनले भने, ‘राजनीतिक अस्थिरता कारण भेला तथा संगठित हुने अधिकार कुण्ठित हुनु मानव अधिकारका दृष्टिले राम्रो होइन ।’ उनले राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले मानव अधिकार रक्षकको संरक्षणसम्बन्धी कानुन बनाउन प्रदेश सरकारलाई नमुना कानुन बुझाएको जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टंक खनालले आयोगले मानव अधिकार रक्षकसम्बन्धी निर्देशिका जारी गरेको बताए ।
कोक्यापका वरिष्ठ कार्यक्रम संयोजक महेश भट्टले नागरिक समाजको अवस्था हरेक दिन परिवर्तन हुने चर्चा गरे । नागरिक समाज कहिले खुम्चने तथा कहिले विस्तार हुने उनले उल्लेख गरे । पछिल्लो समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर भएको दाबी गर्दै उनले लैंगिक हिंसा, जातीय विभेदका घटनालाई रोक्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका अधिकृत विष्णुमाया पौडेल, अभियानका केन्द्रीय अध्यक्ष पुष्प भुषाल, पूर्वअध्यक्ष उषा बरुवाल, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक वीरबहादुर किसान, कार्यक्रम व्यवस्थापक सरोज नेपाल, गैसस महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदमराज पहारी लगायतले नागरिक समाजको भूमिकाका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया