स्वस्थ ज्येष्ठकाल

डा. कपिलदेव उपाध्याय २०७९ चैत ३ गते १२:१२

उमेर ढल्किँदै जाँदा विभिन्न रोगले सताउँछन् । हृदयरोग, मधुमेह र क्यान्सरजस्ता रोगहरू वयस्कमै देखिन थालिसकेको छ । यी रोगका साथै अन्य समस्याले बुढेसकाललाई असहज बनाउने गरेको छ । वृद्ध अवस्थामा हुने विभिन्न समस्यामध्ये डिमेन्सिया पनि हो । डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग मात्र होइन । मस्तिष्कमा रोग लागेपछि पनि डिमेन्सिया हुन्छ । मस्तिष्कमा रोग नलागेका नब्बे वा सय वर्षका वृद्धवृद्धामा डिमेन्सियाका लक्षणहरू देखिँदैनन् ।

डिमेन्सिया कुनै नयाँ रोग पनि होइन । आयुर्वेदमा ‘स्मृति भ्रंश’ भन्ने रोग तीन हजार वर्षभन्दा पहिलेदेखि नै छ । जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको छ । ६० वर्षको उमेरपछि बिर्सने बानी बढ्न थाल्छ । यो समस्या बढ्दै गए डिमेन्सियानामक रोग लागेको पनि हुन सक्छ । यो रोग लागेपछि सम्झने, इष्टमित्र चिन्ने, आफन्तहरूको नाम सम्झने, सरसफाइ, नुहाइधुवाइ तथा दिसा, पिसाब गर्नेजस्ता कार्यहरू गर्ने क्षमतामा ह्रास आउँछ । पहिले गर्दै आएका महŒवपूर्ण कार्यहरू गर्ने शक्ति पनि क्षीण हुँदै जान्छ ।

डिमेन्सिया धेरै किसिमका हुन्छन् । तीमध्ये बढी देखिने अल्झाइमर्स डिमेन्सिया हो । यो रोग लाग्नुका कारणबारे धेरै अनुसन्धानहरू भइरहेका छन् । हर्पिज सिम्पेलक्स भाइरसको संक्रमण र अल्झाइमर्स डिमेन्सियाको केही अन्तरसम्बन्ध भएको पाइएको छ । यस भाइरस संक्रमणको राम्रो उपचार गरेर अल्झाइमर्स रोक्न सकिन्छ कि भन्ने तथ्यहरू प्नि सार्वजनिक भएका छन् ।

Advertisement

डिमेन्सिया रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्दछ । उमेर बढ्दै जाँदा डिमेन्सिया हुने सम्भावना पनि बढ्दै जान्छ । प्रायः ६५ देखि ७० वर्ष उमेरसमूहमा डिमेन्सिया हुने सम्भावना करिब एक प्रतिशत हुन्छ । ९०–९५ उमेरसमूहका व्यक्तिलाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ ।

स्वस्थ्य जीवनशैलीले डिमेन्सियालगायत धेरै रोगहरूबाट बच्न सकिन्छ । त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु उपयुक्त हुन्छ

Advertisement

मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने गर्छ । कुनै विषयलाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने ठीक, बेठीक कुराको निर्णय लिने र समस्या परेमा समाधानको खोजी पनि गर्छ । यस्तैगरी आफू कुन ठाउँमा छु, के कस्तो अवस्थामा छु, आफ्नो घर/डेरामा कुन कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने पनि मस्तिष्कबाट हुन्छ ।

अभिव्यक्त गर्न खोजेको कुराहरूको सही शब्दहरूको चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ । तर डिमेन्सिया रोग सुरु भएपछि लक्षणहरू विस्तारै देखिन थाल्छन् । अलिअलि गरेर बढ्दै जान्छन् । रोग बढी सकेपछि मस्तिष्कले पहिले सहज रूपमा गर्दै आएका कामहरू पनि भुल्न थाल्छ । खास गरेर पहिले सजिलै सम्झिने कुराहरू बिर्सने सुरु हुन्छ ।

डिमेन्सिया रोग लागेपछि विभिन्न किसिमका लक्षणहरू देखिन्छन् । यस किसिमका लक्षणहरू परिवारका सदस्यहरूले थाहा पाउन सकिन्छ । विगतमा गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने हुन्छ । परिवारका सदस्यहरूको नाम सम्झन पहिले कुनै कठिनाइ नहुने गरेकोमा रोग लागेपछि बिर्सिराख्ने र सम्झाए पनि एकैछिनमा बिर्सिने हुन्छ । पैसा, गरगहना, साँचो वा कागजपत्रहरू राखेको ठाउँ प्रायःजसो बिर्सिने र घण्टौं खोजी गर्नुपर्ने हुन्छ ।

(तर कहिलेकाहीँ बिर्सने जो कोहीलाई पनि हुन सक्छ यसलाई रोग मानिँदैन ।) समय तथा स्थानको ज्ञान हराउने । महिना, बार, गतेजस्ता कुराहरूको सम्झना हुँदैन । आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने हुन्छ । रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने, खाना माग्ने समस्या हुन्छ । आफ्नै छोरा, छोरी, बुहारीलाई नचिन्ने, हजुर, तपाईं, भन्ने, हुन्छ । आफ्नै परिवारका सदस्यहरूलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि ? सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउनेजस्ता लक्षणहरू देखिन्छन् ।

डिमेन्सियाका बिरामीहरूमा देखिने सबै लक्षणहरू एकै चोटी देखिँदैनन् । सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ । र रोग बढ्दै गएपछि थप लक्षणहरू पनि देखिँदै जान्छन् । डिमेन्सिया धनी, गरिब, महिला, पुरुष, जुनसुकै जातजाति र भाषाभाषीलाई हुन सक्छ । याद राख्नुपर्ने मुख्य कुरा के हो भने डिमेन्सिया रोग हो । बुढेसखालको लक्षण होइन । तर पनि हाम्रो समाजमा यो बुढेसकालका कारण भएको हो भन्ने गलत सोचाइ व्यापकरूपमा छ ।

किन यस्तो रोग लाग्छ भन्नेबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन् । मस्तिष्कका स्नायुकोषहरू मर्दै जाने र मस्तिष्कमा भएका केही रसहरू उत्पन्न गर्ने स्नायुकोष (न्युरोन्स) पनि हराउँदै जाने गरेको पाइएको छ । डिमेन्सिया हुने कारणहरू धेरै छन् तीमध्ये करिब ७० प्रतिशत बिरामीहरू अल्जाइमर्स रोगका कारण हुने गरेको छ । अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो ।

डिमेन्सिया हुन सक्ने अन्य कारणहरूमा अत्यधिक मदिरा सेवन, एचआईभी/एड्स, पोषणको कमी, र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन् । डिमेन्सिया रोग लागि सकेपछि उपचार गरेर पूूरै निको हुने सम्भावना निकै कम हुन्छ । धेरैजसो डिमेन्सियाका बिरामीहरूमा लक्षणहरू विस्तारै सुरु हुन्छन् । सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाइ हुने र रिसाउने लक्षणहरू देखिन्छन् । यस्ता लक्षणहरूलाई परिवारजनले बुढेसकाल लागेर होला भनेर सामान्य रूपमा लिन्छन् । रोग निकै बढी सकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ ।

सुरुसुरुमै रोगको निदान हुन सके केही औषधिहरूको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ । रोग बढी सकेपछि औषधिले रोकथाम गर्न पनि सकिँदैन । त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हुन्छ । परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के कसरी स्याहार, सुसार गर्न सकिन्छ भन्ने बारेमा पनि ध्यान दिन तथा तयारी गर्न सकिन्छ ।

रोगको निदान गर्ने भनेको बिरामीको सम्झना शक्ति ठीक छ कि छैन भनेर चिकित्सकले परीक्षण गर्ने हो । अन्य कुनै रोगको कारण हो कि ? भनेर खोजीनीति गर्ने र रगत आदिको परीक्षण गर्ने गरिन्छ । उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको रहेछ भने उपचार पछि निको हुन्छ । अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरण शक्ति हराउँदै गएको हो भने यकिन भएपछि बिरामीको स्याहारसुसार र ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ । सुरुको अवस्था हो भने औषधिको प्रयोग पनि गर्न सकिन्छ ।

ब्रिटिस मेडिकल जर्नल (जनवरी २०१२) अनुसार एसिटाएल कोलिननामक न्युरोट्रन्समिटरले मस्तिष्कमा न्युरोन्स (नर्भ सेल्स) हरू बीच नयाँनयाँ कनेक्सन वा सम्पर्क स्थापना गर्ने काम गर्छ । जति राम्रो र बलियो यस्ता कनेक्सनहरू भए त्यति मस्तिष्क तेजिलो हुन्छ । यो न्युरोट्रान्समिटरको कमी हुँदै जाँदा, न्युरोन्सहरू सुक्दै जान्छन् । एसिटाएल कोलिन उमेर बढ्दै जाँदा, घट्दै जान्छ ।

जस्तै हाम्रो मांसपेशीहरू कुनै पनि शारीरिक व्यायाम वा परिश्रम नगरे घट्दै जान्छन् । त्यस्तै मस्तिष्कलाई सक्रिय राख्न व्यायामको आवश्यकता पर्छ । व्यक्तिगत सरसफाइ र खानपिन आदि साना बच्चाबच्चीलाई गरे जस्तै गर्नुपर्ने हुन्छ । दिउँसो सुत्न दिँदा राति ननिदाउने समस्या हुने हुँदा राति सुत्ने बानी बसाल्नु राम्रो हुन्छ । खास गरेर सहरमा घरको ढोका, घर कम्पाउन्ड भए ढोका/गेट राम्रोसँग बन्द गर्नुपर्छ, अन्यथा घरबाहिर गएमा बिरामी आफैं घर फर्किन सक्दैनन् र परिवारलाई बिरामी खोज्न सास्ती हुन सक्छ ।

बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नं. भएको कार्ड राखिदिएमा हराएमा पनि खोज्न सजिलो हुन्छ । नाम/फोन नंं भएको ब्रासलेट (चाँदी वा अन्य धातुको ) लगाइदिँदा पनि हुन्छ । अन्य समस्याहरू जस्तै आँखामा मोती बिन्दु, सुन्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदि भए त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । लडेर चोटपटक लाग्ने र विभिन्न संक्रमणहरू भएर समस्या हुन सक्ने भएकोले त्यसतर्फ सतर्क हुनु जरुरी छ ।

निद्रा नलाग्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधहरूको प्रयोग गर्न सकिन्छ । अनुपयुक्त व्यवहार गर्ने जस्तै कपडा खोल्ने, नांगै हुने, यौनांग खेलाउने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्ने जस्ता समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिहरूको प्रयोग गर्न सकिन्छ ।

बिरामीहरू विस्तारै आफूले आफ्नो हेरचाह बिल्कुलै गर्न नसक्ने अवस्थामा पुग्छन् । बिरामीमा देखिने परिवर्तनलाई रोग मानेर रेखदेख गर्नु गराउनु आवश्यक हुन्छ । यसलाई बोझको नलिँदा मानसिक तनाव पनि त्यति हुँदैन । यो रोगबाट बच्न र बचाउन सकिन्छ कि भन्ने सम्बन्धमा धेरै अध्ययनहरू भएका छन् । तर यसबाट बच्ने उपाय भेटिएको छैन । विभिन्न अध्ययनहरूबाट यो रोगबाट पूरै बच्ने सम्भावना नभेटिए पनि केही तथ्यहरू भने पत्ता लागेका छन् । जुन अपनाउँदा यो रोग नलाग्न सक्छ ।

स्मरण शक्तिमा कमी आउने अरू धेरै कारणहरू छन् । जस्तै केही भिटामिनहरूको कमी (जस्तै, भिटामिन बी १२), केही हर्मोनहरूको कमी (लो थाइराइड हर्मोन) र केही औषधिहरूको प्रयोगले पनि स्मरण शक्तिमा ह्रास आउन सक्छ । त्यस्तै गरेर डिप्रेसन, मानसिक तनाव, निद्राको समस्या, लागूऔषधको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्तिमा कमी आएको हुन सक्छ । यी कारणहरूले गर्दा स्मरण शक्तिमा ह्रास आउनुका कारणहरू पत्ता लगाई कमी भएको तŒव पूर्ति गर्दा फाइदा हुन्छ ।

धूमपान नगर्ने, मधुमेह, उच्च रक्तचाप नियन्त्रण गर्ने, वजन सन्तुलित बनाउने, नियमित शारीरिक व्यायाम गर्ने र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउनु पर्छ । यी प्रयासहरूले हृदयघात हुनबाट बचाउँछन् । साथै डिमेन्सियाको रोकथाममा मत्पूर्ण योगदान पुग्छ । सन्तुलित भोजन गर्नु र पोषणको कमी हुन नदिनु आवश्यक छ । टाउकोमा जोडले चोटपटक लागेमा पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।

मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ । तनाव हुँदा कर्टिसोलनामक हर्मोन शरीरमा बढी निस्कन्छ । जुन शरीर र मस्तिष्कलाई हानिकारक छ । तनावको उचित तवरले व्यवस्थापन गर्न आफ्ना समस्याहरू मिल्ने साथी वा परिवारका सदस्यसँग आपसमा बाँड्नुपर्छ । समस्या लुकाउनेभन्दा समाधानको प्रयास गर्नुपर्छ । शारीरिक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवणबाट पनि फाइदा लिन सकिन्छ । यसबारे थप जानकारी विशेषज्ञबाट परामर्श लिन सकिन्छ ।

भनिन्छ, मस्तिष्कलाई कि त प्रयोग गर वा गुमाउ । केही काम छैन भनेर चुप लागेर निराश भई बस्नु हुँदैन । यसका सट्टा नयाँ नयाँ विषयबारे पढ्ने, सिक्ने आदि गर्दा फाइदा हुन सक्छ । स्वस्थ्य जीवनशैलीले डिमेन्सियालगायत धेरै रोगहरूबाट बच्न सकिन्छ । त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु उपयुक्त हुन्छ ।
डा. उपाध्याय, वरिष्ठ मनोचिकित्सक हुन् ।

तपाईको प्रतिक्रिया