‘बजार मूल्य मनपरी,उपभोक्ता बाँच्ने आधार छैन’

समाधान संवाददाता २०७९ चैत ३ गते १७:३१

पोखरा ।
विश्व उपभोक्ता अधिकार दिवस २०२३(१५ मार्च)को सन्दर्भमा पर्यटन तथा उद्योग कार्यालय कास्कीले शुक्रबार उपभोक्ता सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा कार्यालयका प्रमुख शेषकान्त पौडेल, खाद्य गुणस्तर तथा प्रविधि कार्यालय कास्कीका प्रमुख शिवजी बराल र अधिवक्ता गीता आचार्यले सहजीकरण गरे ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग महाशाखाका प्रमुख रामप्रसाद आचार्यले बजार मुल्य मनपरी रुपमा तोक्दा उपभोक्ताको बाँच्ने आधार नभएको बताए । उपभोक्ताको अधिकार सुनिश्चित गर्नको लागि नीतिगत रुपमा समस्या नभएको उल्लेख गर्दै उनले व्यवहारमा ऐन कानुन कार्यान्वयनमा समस्या रहेको चर्चा गरे ।

उनले उपभोक्ता सचेतना कार्यक्रमको मोडललाई परिवर्तन गर्ने जानकारी दिए । ‘उपभोक्तालाई सचेत बनाउने जिम्मेवारी हामी सबैको हो,’उनले भने, ‘ग्रामिण तह तथा समुदायस्तरका कार्यक्रम लगेर उपभोक्तालाई सचेत पार्नु आवश्यक छ ।’ उनले टोल समुदायसम्म कार्यक्रम लैजान उपभोक्ता मञ्चलाई सुझाव दिए ।

Advertisement

त्यस्तो कार्यक्रममा सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनले जानकारी दिए । उनले उद्योग व्यवसाय दर्ता गर्दा अनिवार्य रुपमा उपभोक्ता सचेतना बोर्ड राख्ने व्यवस्था गर्नु पर्ने प्रस्ताव गरे । उनले अहिलेसम्मको गुनासोमा आधारित अनुगमन प्रणालीलाई नियमित र अनिवार्य रुपमा गर्ने व्यवस्था मिलाउने बताए ।

गण्डकी प्रदेशमा उपभोक्ता हित संरक्षणको लागि कानुनी सयंन्त्र आवश्यक भएको उनले उल्लेख गरे । कार्यक्रममा पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता तथा सूचना अधिकारी प्रदिपकुमार रेग्मीले युवा तथा विद्यार्थीहरुमा उपभोक्ता अधिकारको सचेतनामुलक कार्यक्रम बढाएर लैजाने योजना सुनाए ।

Advertisement

उनले उपभोक्ता सचेत तथा उद्योगी व्यवसायीले नैतिकताको पालना गरेर व्यवसाय गर्न सुझाव दिए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले स्थानीय प्रशासनले बजार अनुगमनको काम नियमित रुपमा गरेको बताए ।

पोखरा महानगरपालिका सहकारी महाशाखाका प्रमुख भरतराज पौडेलले हरेक तहका उपभोक्ता समक्ष सचेतनामुलक कार्यक्रम आवश्यक रहेको औल्याए । ‘स्वच्छ उर्जा मार्फत उपभोक्त सशक्तिकरण’ भन्ने नाराका साथ भएको कार्यक्रममा खाद्य गुणस्तर तथा प्रविधि कार्यालय कास्कीका प्रमुख शिवजी बरालले नेपाल सरकारले १ सय ३७ वस्तुको स्तरीय मापदण्ड तोकेको जानकारी दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव नवराज आचार्य, उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल ‘अथक’ उपभोक्ता अधिकारलाई विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया