स्वरुप बदल्दै पाेखरा ५ काे ठूलीपोखरी

पोखरा ।
लेखनाथसमेत गाभिएपछि पोखरा महानगरमा ९ वटा ताल छन् । यी ठूला तालका अलावा थप पोखरीसमेत छन् । केही पोखरी भने बेवास्ता र मानवीय अतिक्रमणले लोप हुने खतरामा छन् । यसै गरी बेवास्तामा परेको पोखरा ५ धारापानी मार्गको खुँडेपोखरीले गएको फागुन ८ गते एकाएक सबैको ध्यान खिच्यो ।
पोखरीमा ४ वर्षका बालक सुहान केसी क्षेत्रीको डुबेर ज्यान गयो । यो घटनापछि पोखरी संरक्षण, तारबार र सौन्दर्यकरण थालिएको छ । स्थानीय र सरोकारवालाले पोखरीको नामै फेरेर ठूलीपोखरी राखेका छन् । फोहोर र जलकुम्भीले भरिएको पोखरी शनिबार सरसफाइ गरियो ।
ठूलीपोखरी ताल संरक्षण तथा उपभोक्ता समितिको अगुवाइमा पोखरीबाट जलकुम्भी निकालेर छेउमा राखिएको छ भने नकुहिने प्रकृतिका फोहोर ल्याडफिल साइट पठाइएको छ । सरसफाइ अभियान, वडा कार्यालय र महानगरको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली र सर्वसाधारणले पोखरी सरसफाइ गरेका हुन् ।
दशकौंदेखि थुप्रिएको फोहोर र जलकुम्भी सर्वसाधारणले सजिलै निकाल्न नसक्ने भएकाले तालिम प्राप्त सुरक्षा निकायको जनशक्तिले डुंगाको प्रयाग गरी फोहोर संकलन गरेको थियो । कार्यक्रमका लागि वातावरण संरक्षणका लागि महाअभियानले विशेष सहयोग गरेको छ ।
शनिबार बिहान करिब ५ घन्टा ठूलो जनशक्तिले पोखरीको आधा जति फोहोर निकालेको समितिकी अध्यक्ष केसीले बताइन् । उनले भनिन्, ‘सरोकारवाला, स्थानीय सरकार, सुरक्षा निकाय मिलेर शनिबार आधा जति भाग सफा गरेका छौं । अब ११ गतेको दोस्रो चरणको सरसफाइपछि पोखरी प्राकृतिक स्वरुप फर्किन्छ ।’
वडा कार्यालय र स्थानीयको पहलमा भएको भेलाले २ साताअघि निवर्तमान जनप्रतिनिधि अञ्जु केसीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । सुहानको मृत्यु भएपछि पोखरा महानगरका मेयर धनराज आचार्यले घटनास्थल पुगेर तत्काल पोखरीलाई जोखिम मुक्त बनाउने प्रतिवद्धता गरेका थिए । अहिले पोखरा महानगरले पोखरा तारबार गर्न १० लाख बजेट दिएको छ ।
फेरि कुनै दुर्घटना नहोस् भनी तत्काललाई पोखरीवरपर तरबार लगाउने तयारी छ । अध्यक्ष केसीले तत्कालको जोखिम हटाएपछि योजनावद्ध रुपले काम गर्ने सुनाइन् । ‘यसको दीर्घकालीन उपयोग र सौन्दर्यकरणका लागि डिपिआर तयार गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ ।
तारबारसँगसँगै पोखरीको सीमाकांन सकिन्छ । त्यसपछि योजना बनाएर सानै किन नहोस्, सुन्दर पोखरी, वरिपरि सौन्दर्यकरण गर्दै पर्यटकीय स्थल बनाउनुपर्ने स्थानीयको मत छ ।’ पोखरा ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले हालै भएको मानवीय क्षतिले आफूहरुलाई सचेत गराएको जनाए । उनले तत्काललाई जोखिम रोक्ने गरी काम गर्ने र २/३ वर्षमा पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सुनाए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया