सम्पादकीय: हवाई सम्बन्ध निरन्तरताको खोजी

समाधान संवाददाता २०७९ चैत ५ गते १२:००

पोखरा र देशका अरु प्रदेशका मुख्य सहरहरुसँग हवाई सम्पर्क र सम्बन्ध जोड्न आवश्यक छ । त्यही आवश्यकतालाई पूरा गर्न भनेर पूर्वको सीमा सहर भद्रपुर–पोखरा हवाई उडान पनि सुरु भयो । २५ फागुनमा भद्रपुरबाट आएको बुद्ध एयरको जहाज २६ गते पोखराबाट फर्कियो ।

पोखराबाट लिएर गएका यात्रुलाई अर्काे खेपमा लिएर पनि आयो । त्यति बेला भनियो कि अब पोखरा–भद्रपुर हवाई सम्बन्ध जोडियो । त्यतिमात्रै होइन पूर्वी नाका हुँदै बंगलादेशदेखि भारतको पश्चिमबंगालका पर्यटक पोखरा ल्याउन सकिने आशा पनि जाग्यो । पर्यटन व्यवसायी उत्साहित बने । पोखरा महानगरपालिकाका मेयर र भद्रपुरका मेयरले दुवै सहरको यात्रा पनि गरे । यो हवाई सम्बन्धबारे आशाहरु पनि देखाइए । तर त्यसपछि भने यी दुई सहर आउजाउ गर्ने यात्रु भएनन् र हवाई सेवा स्थगित भयो ।

दुई गन्तव्य हवाई सेवाबाट जोड्नुअघि जुन प्रकारको तयारी गर्नुपर्ने थियो । त्यो पुगेन । पोखराको पर्यटनको प्रवद्र्धन भारतको पश्चिम बंगाल र बंगलादेशसम्मै जुन प्रकारले गर्नुपर्ने थियो, त्यो गरिएन । र, भद्रपुर–पोखरा, पोखरा–भद्रपुर गर्ने हवाई यात्रु कति हुनसक्छन् भन्ने अनुसन्धान या खोजी गरिएन । हतारहतारमै सेवा सुरु गरियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको नयाँनौलो तरंगका बिच हतपत सेवा सुरु गर्दा सफलता मिलेन । यस्तो हतारो र अपेक्षा गरेजस्तो सफलता नमिलेको यो पहिलो अनुभव होइन ।

Advertisement

मधेस प्रदेशको जनकपुरसम्म पोखरा हवाई सेवा चलाउने भनेर गण्डकीका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र मधेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले दुई सहरको हवाई यात्रा गरे । त्यो पनि निरन्तर हुन सकेन । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छँदा उनका महत्वांक्षी पर्यटनमन्त्री विकास लम्साल त बाराको सिमरासम्म पनि पोखराबाट जहाज उडाउने कुरा गर्थे ।

त्यसमा उनको कुनै खोजी अनुसन्धान र सम्भाव्यता अध्ययन थिएन । त्यही भएर उनैले हचुवामा पोखरा–मनाङ सुरु गरेको हवाई सेवा पनि एकपटकमै सीमित बनेको थियो । पोखरा–धनगढी हवाई सेवा पनि चल्न सकेन । सुखद कुरा के भने भरतपुर, भैरहवा र नेपालगन्ज भने चलिरहेको छ ।

Advertisement

पोखरालाई अरु प्रदेशका सहरसँग हवाई सम्पर्क बनाउन जरुरी छ । त्यसमा किन असफलता प्राप्त भयो भन्ने खोजिनुपर्छ । असफलता हात लाग्यो भनेर यत्तिकै रोकिनु हुँदैन । सफल कसरी हुन सकिन्छ भनेर अध्ययन गरी सफल बनाउनै पर्छ । विशाल भारतको पश्चिम बंगाल र बंगालदेशका आधा प्रतिशत जनसंख्यामात्रै नेपाल भित्रयाउन सके नेपालमा पर्यटकको छेलोखेलो हुन्छ ।

त्यस्तै जनकपुरसम्म हवाई सेवा निरन्तर गरी बिहारका पर्यटक पोखरा ल्याउन सकिन्छ । भैरहवा र नेपालगन्ज तथा धनगढीबाट २० करोडभन्दा ज्यादा जनसंख्या भएको उत्तर प्रदेशका पर्यटन भित्रयाउन सक्नुपर्छ । हरेश नखाई फेरि पनि प्रयास गर्नु उचित हुन्छ । हवाई सम्बन्ध निरन्तरताको प्रयास गरिरहनुपर्छ ।

तपाईको प्रतिक्रिया