सम्पादकीय: हवाई सम्बन्ध निरन्तरताको खोजी

पोखरा र देशका अरु प्रदेशका मुख्य सहरहरुसँग हवाई सम्पर्क र सम्बन्ध जोड्न आवश्यक छ । त्यही आवश्यकतालाई पूरा गर्न भनेर पूर्वको सीमा सहर भद्रपुर–पोखरा हवाई उडान पनि सुरु भयो । २५ फागुनमा भद्रपुरबाट आएको बुद्ध एयरको जहाज २६ गते पोखराबाट फर्कियो ।
पोखराबाट लिएर गएका यात्रुलाई अर्काे खेपमा लिएर पनि आयो । त्यति बेला भनियो कि अब पोखरा–भद्रपुर हवाई सम्बन्ध जोडियो । त्यतिमात्रै होइन पूर्वी नाका हुँदै बंगलादेशदेखि भारतको पश्चिमबंगालका पर्यटक पोखरा ल्याउन सकिने आशा पनि जाग्यो । पर्यटन व्यवसायी उत्साहित बने । पोखरा महानगरपालिकाका मेयर र भद्रपुरका मेयरले दुवै सहरको यात्रा पनि गरे । यो हवाई सम्बन्धबारे आशाहरु पनि देखाइए । तर त्यसपछि भने यी दुई सहर आउजाउ गर्ने यात्रु भएनन् र हवाई सेवा स्थगित भयो ।
दुई गन्तव्य हवाई सेवाबाट जोड्नुअघि जुन प्रकारको तयारी गर्नुपर्ने थियो । त्यो पुगेन । पोखराको पर्यटनको प्रवद्र्धन भारतको पश्चिम बंगाल र बंगलादेशसम्मै जुन प्रकारले गर्नुपर्ने थियो, त्यो गरिएन । र, भद्रपुर–पोखरा, पोखरा–भद्रपुर गर्ने हवाई यात्रु कति हुनसक्छन् भन्ने अनुसन्धान या खोजी गरिएन । हतारहतारमै सेवा सुरु गरियो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको नयाँनौलो तरंगका बिच हतपत सेवा सुरु गर्दा सफलता मिलेन । यस्तो हतारो र अपेक्षा गरेजस्तो सफलता नमिलेको यो पहिलो अनुभव होइन ।
मधेस प्रदेशको जनकपुरसम्म पोखरा हवाई सेवा चलाउने भनेर गण्डकीका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र मधेसका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले दुई सहरको हवाई यात्रा गरे । त्यो पनि निरन्तर हुन सकेन । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छँदा उनका महत्वांक्षी पर्यटनमन्त्री विकास लम्साल त बाराको सिमरासम्म पनि पोखराबाट जहाज उडाउने कुरा गर्थे ।
त्यसमा उनको कुनै खोजी अनुसन्धान र सम्भाव्यता अध्ययन थिएन । त्यही भएर उनैले हचुवामा पोखरा–मनाङ सुरु गरेको हवाई सेवा पनि एकपटकमै सीमित बनेको थियो । पोखरा–धनगढी हवाई सेवा पनि चल्न सकेन । सुखद कुरा के भने भरतपुर, भैरहवा र नेपालगन्ज भने चलिरहेको छ ।
पोखरालाई अरु प्रदेशका सहरसँग हवाई सम्पर्क बनाउन जरुरी छ । त्यसमा किन असफलता प्राप्त भयो भन्ने खोजिनुपर्छ । असफलता हात लाग्यो भनेर यत्तिकै रोकिनु हुँदैन । सफल कसरी हुन सकिन्छ भनेर अध्ययन गरी सफल बनाउनै पर्छ । विशाल भारतको पश्चिम बंगाल र बंगालदेशका आधा प्रतिशत जनसंख्यामात्रै नेपाल भित्रयाउन सके नेपालमा पर्यटकको छेलोखेलो हुन्छ ।
त्यस्तै जनकपुरसम्म हवाई सेवा निरन्तर गरी बिहारका पर्यटक पोखरा ल्याउन सकिन्छ । भैरहवा र नेपालगन्ज तथा धनगढीबाट २० करोडभन्दा ज्यादा जनसंख्या भएको उत्तर प्रदेशका पर्यटन भित्रयाउन सक्नुपर्छ । हरेश नखाई फेरि पनि प्रयास गर्नु उचित हुन्छ । हवाई सम्बन्ध निरन्तरताको प्रयास गरिरहनुपर्छ ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया