बन्दीपुरमा सिसाको पुल बनाइने

समाधान संवाददाता २०७९ चैत ५ गते १२:५४

पोखरा ।
गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ । पृथ्वी राजमार्गको डुम्रे बजारदेखि ७ किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ ।

Advertisement

बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुने क्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।

बन्दीपुरमा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी बन्दीपुर स्काइवाक एन्ड बन्जीजम्पले यहाँ सिसाको पुल निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

‘बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै यहाँ आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यसहित पूर्वाधार निर्माणमा जुटेका छौँ, सोहीबमोजिम केबलकार परियोजना निर्माणाधीन छ’, शर्माले भने, ‘अब सिसाको पुल निर्माणको काम सुरु गर्ने तयारीमा छौं ।’

पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम थालनी भएको छ । सिसाको पुल निर्माणका लागि करिब १ अर्ब लाग्ने अनुमान छ । ‘डिपिआर तयार भएपछि बजेटको टुंगो लाग्छ’, उनले भने, ‘सिसाको पुल बन्दीपुरको मात्र नभई समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनका लागि कोसेढुंगा सावित हुने हाम्रो विश्वास छ ।’

Advertisement

केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडले करिब १ अर्ब खर्चेर पुल बनाउने तयारी थालेको छ

बन्दीपुर गाउँपालिका ४ बरालथोकमा निर्माण भइरहेको केबलकारको होटलसहितको माथिल्लो स्टेसनको नजिकै सिसाको पुल बनाउने योजना छ । ‘सत्र तले पाँचतारे होटल नजिकको जंगलमाथि सिसाको पुल बनाउने लक्ष्य हो, सिसाको पुल समुन्द्र सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ, त्यहाँबाट भीरमाथि हिँडेको अनुभव लिन सकिनेछ’, शर्मा भन्छन् ।

बन्दीपुरमा निर्माणाधीन केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि केबलकारको व्यावसायिक सञ्चालनको तयारी भइरहेको छ । विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब निर्माणको अन्तिम चरणमा पुगेको हो ।

२०८० को मंसिरभित्र पाँच तारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र वाक्स म्युजियम सम्पन्न गर्ने लक्ष्य छ । बरालथोकमा पाँचतारे होटलको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ ।

बन्दीपुर ४ ठुल्ढुंगाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुंगास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिज्जम इन्भेस्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो । यसमा १ हजार १ सयभन्दा बढी लगानीकर्ता छन् ।

तपाईको प्रतिक्रिया