रामराज्य भनेको प्रजातन्त्र नै होः शर्मा

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले रामराज्य भनेको नै प्रजातन्त्र भएको दाबी गरेका छन् । शनिबार नेपाल शिक्षक संघको नवौं अधिवेशनको उद्घाटन सत्रमा शर्माले भगवान राम प्रजातन्त्रवादी भएको हुँदा नै प्रजातान्त्रिक सोंचका कारण नीतिवान र नैतिकवानले गर्दा रामराज्य सुखको राज्य भएको विचार राखे ।
नैतिकवान मुखले मात्र बोलेर नहुने व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ । शर्माले भने, ‘जनतालाई सुखी र खुसी बनाउन भगवान रामले जुन अथाह मेहनत र प्रयास गरेर उपलब्धि प्राप्त गरेका थिए, त्यसबाट नै रामराज्य बनेको हो । त्यसका लागि प्रजातन्त्रको बाटो हिड्नु आवश्यक छ ।’
उनले शिक्षक समाजको अगुवा भएकाले समस्या देखाउने नभई समाधानको नेतृत्व गरेर अगाडि बढ्न सक्नुपर्नेमा जोड दिए । ‘प्रजातन्त्रवादीका पनि समस्या अनेकौं हुन्छन् र समाधान पनि अनेकौ किसिमबाट गर्न सकिने हुन्छ । कम्युनिस्टसँग समस्या हुँदै हुँदैन, समस्या आए भने समाधान गर्न सक्दैनन्, बरु टुक्रिन्छन्,’ उनले भने ।
कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण केसी, उपसभापति युवराज कुँवर, निवर्तमान सचिव सुदीपमोहन भट्टराई, गण्डकी प्रदेश सदस्य एवं प्रचार विभाग उपप्रमुख शिरोमणि बराल, नेपाल ट्रेड युनियन गण्डकी प्रदेश सभापति मुरारी शर्मा, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका सभापति शिरोमणि लामिछाने, सचिव राजु क्षेत्री लगायतले बोलेका थिए ।
उद्घाटन सत्रको अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रमेशमोहन भट्टराईको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया