प्रहरीलाई तालिम

समाधान संवाददाता २०७९ चैत ५ गते १३:०४

पोखरा ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीका लागि प्रभावशाली सञ्चार एवं प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारबारे अभिमुखीकरण गरिएको छ ।

वडा प्रहरी कार्यालय बैदामको आयोजनमा भएको अभिमुखीकरणमा बैदामका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरीप्रतिको विश्वासलाई मजबुत बनाएर सेवा प्रवाह गर्नुपर्ने बताए ।

उनले शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिक मैत्री बोली व्यवहार गर्नुपर्नेमा जोड दिए । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई सकारात्मक बनाउन सघाउ गर्ने उनको भनाइ छ ।

Advertisement

सहभागीको तर्फबाट अनुभव प्रहरी जवान सन्तोष रिमालले बोल्ने कला, पत्रकारको प्रहरी र प्रहरीको पत्रकारप्रतिको धारणाका साथै प्रभावशाली सञ्चारका लागि अपनाउनुपर्ने विधि प्रक्रियाको बारेमा जान्ने, बुझ्ने अवसर मिलेको बताए । उनले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत गरे ।

बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले सेवाग्राहीको प्रहरीप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन बोल्ने कला प्रशिक्षण उपयोगी भएको धारणा राखे । नागरिकसँग हरेक विषयसँग ठोकिने प्रहरीका लागि बोल्ने कला निकै आवश्यक र उपयोगी भएको उनको भनाइ छ ।

Advertisement

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले प्रभावकारी सेवा प्रवाहका लागि सञ्चार र बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण दिएकी थिइन् । १ दिने अभिमुखीकरणमा वडा प्रहरी कार्यालय र मातहतका २५ प्रहरी कर्मचारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया