रेवान कप उपाधि नवीनलाई

समाधान संवाददाता २०७९ चैत ५ गते १७:२२

पोखरा ।
नवीन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नवीनले पहिलोपटक उपाधि आफ्नो नाम गराएका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा भएको प्रतियोगितामा पहिलो सेटमा ४–२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४–६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नवीनले दोस्रो सेट ६–२ ले तथा तेस्रो सेट सुपर टाइमा ९–२ ले आफ्नो पोल्टामा पारेका थिए ।

मेन्स डबल्सतर्फको उपाधि अनुजकुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६–१, ६–१ को सहज नतिजा निकाल्दै अनुज र नवीनको जोडीले उपाधि पाएको हो । जितसँगै विजयी खेलाडीले नगद १० हजार तथा उपविजेता खेलाडीले नगद ५ हजार्सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement

प्रतियोगितामा नवप्रवेशीतर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने । उनीहरुले ट्रफी प्राप्त गरे । समापन समारोहमा रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीलाई नगद तथा ट्रफी वितरण गरे । पौडेलले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकास प्रतियोगिता महत्वपूर्ण रहेको औंल्याए ।

नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेल क्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनील गुरुङले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको जनाए । कास्की जिल्ला टेनिस संघ अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको समापन समारोहमा संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नवीन चालिसे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया