मिसन ग्रास रुटमा १३० जना सम्मानित

समाधान संवाददाता २०७९ चैत ६ गते १०:०७

पोखरा ।
नेकपा (एमाले) रुपा गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान २०७९ को पहिलो चरणको कार्यक्रम गरेको छ । पहिलो चरणमा पालिकाका सबै वडामा कार्यकर्ता भेला तथा अभिमुखीकरण गरिएको पार्टीका अध्यक्ष नीलकण्ठ रेग्मीले जानकारी दिए ।

Advertisement

उनले अभियान अन्तर्गत दोस्रो चरणमा चैत महिनामा पार्टी सदस्यता नवीकरण र विस्तार, पार्टी प्रवेश र टोल बस्ती स्तरमा पार्टी कमिटी गठन पुनर्गठन र सदृढीकरणको योजना बनाएको बताए ।

अभियानका क्रममा रुपाको वडा नम्बर ५ देउरालीमा आइतबार भएको कार्यक्रममा लामो समयदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय ज्येष्ठ नागरिक, सेल्टरदाता गरी १ सय ३० जनालाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मिसन ग्रासरुट अभियान पार्टी सुदृढीकरणका लागि महत्वपूर्ण अभियान भएको बताए ।

‘अभियानले नेता र कार्यकर्ताको सम्बन्धलाई कसिलो बनाउँदै पार्टीलाई सुदृढ र बलियो बनाउनेछ,’ उनले भने, ‘कार्यकर्ता संगठित र वैचारिक रुपमा प्रशिक्षित भएमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सकिनेछ ।’

Advertisement

नेकपा (एमाले) संगठन विभागका प्रमुखसमेत रहेका अधिकारीले आगामी निर्वाचनमा एमालेको एकल बहुमतसहितको बलियो जितका लागि सबै नेता, कार्यकर्तालाई अहिलेबाटै खटिन निर्देशन दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाईमा सबै कम्युस्टिलाई एकताबद्ध गरेर बलियो र शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रयास भएको उनले उल्लेख गरे । उनले कम्युनिस्टका नाममा नेपाली कांग्रेसलाई बोकेर हिड्नेहरु पछुताउनुपर्ने दिन आउने जिकिर गरे ।

उनले कांग्रेसको एजेन्डा बोकेर हिड्ने नाम मात्रका कम्मुनिस्टलाई जनताले साथ नदिने ठोकुवा गरे । उनले सबै बामपन्थी र राष्ट्रवादी शक्तिलाई गोलबन्द गरी सशक्त र बलियो कम्युनिस्ट बनाउने अभियानमा एमाले लागेको जानकारी दिए ।

व्यक्तिलाई चिक्त नबुझ्दा पार्टी विरुद्धका गतिविधि गर्ने, सार्वजनिक रुपमा टीका टिप्पणी गर्ने जस्ता प्रवृत्ति बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्ता क्रियाकलाप बन्द गर्न आग्रह गरे ।

व्यक्तिका रिस वा आवेशका कारणले पार्टीलाई क्षति हुनेगरी लाग्ने जो कोही पार्टी सदस्यका लागि लायक नहुने तर्क गर्दै उनले पार्टी सदस्यता लिएपछि काम, कर्तव्य र अधिकारबारे सचेत बन्नुपर्ने नियम सबैमा लागू हुने स्मरण गराए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेश कमिटी सदस्य धनबहादुर नेपाली, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, वडा कमिटी रुपा ५का अध्यक्ष तिलक क्षत्री लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया