प्रधानमन्त्रीलाई किसानको पत्र

समाधान संवाददाता २०७९ चैत ६ गते १२:५३

पोखरा ।
अखिल नेपाल किसान महासंघ कास्कीले नेपाल सरकारले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदानलाई कटौतीको निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

किसान महासंघ गण्डकी प्रदेश समितिले चरणबद्ध आन्दोलन अन्तर्गत कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको महासंघ कास्कीका अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

पहिलो चरणको आन्दोलन अन्तर्गत किसान महासंघ गण्डकीले नवलपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । गण्डकीका बाँकी जिल्लाहरुमा आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । किसान महासंघ कास्कीका सचिव सन्तोष भण्डारीले अनुदान कटौतीको बिरोधमा स्थानीय स्तरमा कार्यक्रम गर्ने बताए ।

Advertisement

ज्ञापनपत्रमा आन्दोलनमा सक्रियतापूर्वक सहभागी बन्न न्यायप्रेमी किसानलाई आग्रह गरिएको छ । सरकारको तर्फबाट किसान तथा कृषि क्षेत्रको लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निर्णय गैर जिम्मेवार भएकाले फिर्ता लिन माग गर्दै ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य करिब आधा घटेको अवस्थामा नेपाल सरकारले भने रासायनिक मलको मूल्यमा व्यापक वृद्धि गर्नु गलत भएको उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया