टाइगर कपका विजेतालाई सम्मान

समाधान संवाददाता २०७९ चैत ६ गते १६:४१

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी देशको सम्पति भएको बताएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा हालै टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी खेलाडीहरुको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।


गत माघ ८ देखि १४ गते सम्म सञ्चालन भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकीले प्रथम स्थान प्राप्त गरेको थियो । प्रदेश खेलकुदका संरक्षकसमेत रहेका मुख्यमन्त्री अधिकारीले भने, ‘हामी यहाँहरुको प्रदर्शनका लागि खुसी व्यक्त गर्दछौं । वि आर सो प्राउड अफ यू । तपाईंहरुले सम्मान बढाउनुभएको छ । तपाईंहरुलाई बधाई छ ।’


खेलाडी गहना नभई सम्पत्ति भएको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । ‘गहना त जो कोहीसँग सापटी मागेर पनि लाउन सकिन्छ । त्यस्तो गहना होइन उहाँहरु । सजाउने विषय पनि होइन । उहाँहरु सम्पती हो,’ मुख्यमन्त्री अधिकारीले भने, उहाँहरु सजाउने गहना होइन । राष्ट्रियदुत पनि हो, यहाँहरु साग, एसियन र ओलम्पिकसम्म पुग्नुहोस शुभकामना छ ।’

Advertisement

खेलाडीहरु अन्तर्राष्ट्रिय मञ्चमा पुगेपछि नै राष्ट्रिय झण्डा फहराउने उल्लेख गर्दै खेलाडीको हातमा हुने झण्डाले राष्ट्रको गौरव बढाउने कार्य गर्ने बताए ।


संघीय संसदमा हुँदा खेलाडीहरुलाई पारश्रमिक दिनुपर्छ भनेर प्रस्ताव गर्ने आफू रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको सुनाए । खेलाडीहरुको वृत्ति विकासका लागि प्रदेश सरकारले गम्भीर भएर अघि बढ्नेसमेत उनले प्रतिवद्धता जनाए ।

Advertisement


कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलाडीहरुको हितका लागि मन्त्रालय सधैं अघि रहेर कार्य गर्ने बताए । उनले भने, ‘हामी यहाँहरुको वृति विकासका लागि गम्भीर छौं । यहाँहरुको अन्तर निहित क्षमतालाई त्यसै ह्रास हुन दिने छैनौं । यहाँहरुको क्षमतालाई खेलाडी उत्पादनमा लगाउने हामी प्रतिवद्ध छौं ।’

उनले खेलाडीलाई स्वरोजगार बनाउन मन्त्रालयले कार्य गर्ने बताउँदै टाइगर कपमा विजयी हुनुले पनि भलिबल खेलको विकासका लागि महत्वपूर्ण रहेको बताउँदै विजयी टिमलाई बधाई दिए ।


प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले टाइगर कप भलिबल प्रतियोगितामा प्राप्त सफलताले सिंगो प्रदेश खेलकुद गौरवान्वित भएको बताए । खेलाडीहरुको अन्तरनिहित क्षमतालाई यथावत राख्न प्रदेश खेलकुद सदैव सहयोग गर्न तयार रहेको उनले सुनाए ।


कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङलगायतले खेलाडीलाई सम्मान मात्रै नभई खेलाडीलाई परिचालन गर्न आवश्यक वृति विकासका लागि प्रदेश सरकार गम्भीर भएर सोच्नुपर्ने बताउँदै विभागीय टिमहरुको चुनौतीबीच गण्डकी प्रदेशले नतिजा निकाल्नु महत्वपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया