स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

समाधान संवाददाता २०७९ चैत ६ गते १७:१०

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७९ लाई सफल पार्न पोखरा १० रामबजारका सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ ।

शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शीर्षकमा प्रायोजना गर्नेगरी पुन परिवार र मञ्चबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा पुन परिवारको तर्फबाट नाति नवीन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशि नगद ३५ हजार रुपैयाँ छ । मञ्चले आयोजना गर्ने अवार्डमा परिवारले निरन्तर सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटबल महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका नवीन पुनले खुसीी व्यक्त गरे ।

Advertisement

मञ्चका कार्यसमिति सदस्यसमेत रहेका उमेश पुन सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेश स्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ ।

Advertisement

जसमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्ड वितरण गरिनेछ ।

मञ्चले कार्यक्रमको तयारीलाई तीव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लब पोखरा लगायतले सघाउने छन् ।

यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघ, संस्थाका साथै व्यापारिक प्रतिष्ठानबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव शशि पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया